राष्ट्रपति-प्रधानमन्त्री भेट : चीन र भारतमा दुत पठाइने
काठमाडौँ – प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई आउँदो मंगलबारभित्रै क्रमशः भारत र चीन पठाउने सरकारले तयारी गरेको छ । सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि छलफल गरेका छन ।
शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मंगलबारभित्रै विशेष दूतका रुपमा निधि र महरालाई भारत र चीन पठाउने तयारी गरिएको जानकारी गराएका थिए । सरकारले अस्ति बिहीबार उपप्रधानमन्त्रीद्वयलाई विशेष दूतका रूपमा दुई छिमेकी देश पठाउने निर्णय गरेको थियो । त्यसपछि सरकारले भारत र चीनसंग कूटनीतिक च्यानलमार्फत सम्पर्क पनि अघि बढाइसकेको छ । दुवै उपप्रधानमन्त्रीलाई एउटै मितिमा भारत र चीन पठाउने तयारी सरकारले गरेको हो ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रपतिसंगको भेटमा पछिल्लो राजनीतिक घट्नाक्रम, सरकार गठन लगायतका विषयमा पनि छलफल भएको थियो । मन्त्रिपरिषद विस्तारका लागि भईरहेको पहलबारे राष्ट्रपति भण्डारीले जिज्ञासा राखेकामा जवाफमा प्रधानमन्त्री दाहालले आजभोलीमै केहीलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए ।
२९ साउन २०७३, शनिवार ११:२९ बजे प्रकाशित