पेट्रोलकै लागी दुई जना गम्भिर
रुपन्देही, ८ कात्तिक । पेट्रोल खन्याएर साथीलाई दिने क्रममा आगलागी हुँदा भैरहवामा आइतबार दुई जना घाइते भएका छन् । सिद्धार्थनगर–८ बैंक कोलोनी बस्ने ४० वर्षीय सन्जय सिंहले नवलपरासी कावासोती–८ थकालीचोक बस्ने ४० वर्षीय बलभद्र सुवेदीलाई पेट्रोल दिने क्रममा आगलागी हुँदा दुवै जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । घटना साँझ ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।
एउटा भाँडोमा रहेको पेट्रोललाई अर्को भाँडामा खन्याएर दिने क्रममा छेउमा बलिरहेको दियोबाट आगो लाग्दा दुवै जनाको घुँडामुनिको भाग जलेको रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
घाइते दुवै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । आगलागीबाट घरको कोठामा रहेका लत्ता कपडा, खाट, लोवेडलगायतका सामान जलेर नष्ट भएको समेत प्रहरीले जनाएको छ ।
९ कात्तिक २०७२, सोमवार ०१:४२ बजे प्रकाशित