६ महिनामा सुनसरीबाट १३८ लाई अङ्गीकृत नागरिकता

काठमाडौं, ७ चैत । संविधान जारी भएपछिको ६ महिनाको अवधीमा सुनसरीबाट १ सय ३८ अङ्गीकृत नागरिकता जारी भएका छन । जिल्ला प्रशासन कार्यालयले पछिल्लो ६ महिनाको अवधीमा १ सय ३८ जना भारतीय महिलाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका जनाएको छ ।
भारतीय नागरिकता परित्याग गरी भारतीय मूलका युवतीले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता लिएका हुन । नेपालको संविधान २०७२ जारी भएपछि वैवाहिक अङ्गीकृत नागरिकता लिनेहरुमा सुनसरी प्रशासनमा भारतीय मूलका महिलाको संख्या बढिरहेको प्रशासन नागरिकता फाँटको तथ्याङ्कमा उल्लेख छ । नागरिकता फाँटका प्रशासकीय अधिकृत दीनानाथ लम्सालले वैवाहिक अङ्गीकृत नागरिकता लिनका लागि विवाह दर्ता, पतिको नागरिकता, भारतीय नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिस्टरी गरेको रसिद र सपथ पत्र सहितको आवेदन दिनुपर्ने बताए । तराई केन्द्रित केही दलहरुले भने जारी संविधानमा अङ्गीकृत नागरिकताका विषयमा गलत व्याख्या गरिएको भन्दै भ्रम गर्दै छर्दै आएका छन ।
७ चैत २०७२, आइतवार ०४:३२ बजे प्रकाशित