साउदीबाट ७ नेपाली चेलीको उद्धार
काठमाडौं, ७ चैत । साउदी अरबबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । अवैधानिक रुपमा कुबेत हुँदै साउदी पुगेर घरेलु कामदारका रुपमा बन्दी जीवन बिताइरहेका ७ जना नेपाली महिलाको उद्धार गरिएको रियादस्थित नेपाली दूतावास जनाएको छ । दूतावासको पहलमा उद्धार गरी उनीहरुलाई स्वदेश फर्काइएको हो । काम गरेको पारिश्रमिक नदिइएको, शारीरिक तथा मानसिक यातना दिइने गरेका कारण जीवन रक्षाका लागि उनीहरु साउदी नागरिकको घरबाट भागेका थिए । उनीहरुको उद्धारपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र बनाई स्वदेश फर्काइएको कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए । डाँडाबारी–३ झापाकी रीतादेवी मगर, खर्वाङ–७ बागलुङकी झवी राना, गुलरिया–७ बर्दियाकी मीना विक, बाबियाबिर्ता–७ मोरङकी मायादेवी राजधामी, ओखरकोट–९ प्यूठानकी जमुना रोका, त्रिवेणी–२ नवलपरासीकी पार्वती थापा र बेथान–५ रामेछापकी जानकी लामालाई उद्धार गरी स्वदेश पठाइएका राजदूत शर्माले बताए ।
७ चैत २०७२, आइतवार ०४:४६ बजे प्रकाशित