मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, २ चैत्र । गाउँपालिका, नगरपालिका, संरक्षित र विशेष स्वायत्त् क्षेत्रको संख्या र सीमा निर्धारण गर्ने जिम्मेवारी सहितको आयोग गठन भएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले नयाँ संविधान अनुसार पूर्व सचिव बालानन्द पौडेलको संयोजकत्वमा आयोग गठन गरेको हो ।
संविधानको धारा २९५ को उपधारा ३ मा ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्ने’ उल्लेख छ । पौडेलको संयोजकत्वमा गठित आयोगलाई मापदण्डका आधारमा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्ने जिम्मेवारी छ । आयोगकने सिफारिशमा गाविसहरु गाउँपालिका, नगरपालिका, संरक्षित र विशेष स्वायत्त्त क्षेत्रको सीमा फेरबदल हुन सक्नेछ । आयोगका अन्य सदस्यहरुमा श्याम भूर्तेल, डोरमणि पौडेल, डा. माधव अधिकारी, पवित्रा श्रेष्ठ सुब्बा, सुनीलरन्जन सिंह, धीरज शाह रहेका छन ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एक जना सदस्य भने नियुक्त गर्न बाँकी रहेको जानकारी दिए । आयोगको सदस्य सचिवमा भने नेपाल सरकारका एक जना सह–सचिव रहने छन् ।
२ चैत २०७२, मंगलवार ०३:१२ बजे प्रकाशित