ठोस प्रस्ताव आए आउँदो आईतबारदेखी जारी आन्दोलन रोक्न मधेसी मोर्चा सहमत
रघुनाथ बजगाँई, काठमाण्डौँ । सरकारी पक्षबाट संघिय प्रदेशको सिमाङ्कनका बिषय संवोधन गर्नेगरी ठोस प्रस्ताव आए आउँदो आईतबारदेखी जारी आन्दोलन रोक्न मधेसी मोर्चा सहमत भएको छ । तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बुधवार दिउँसो भएको वार्तामा मोर्चाले सिमाङ्कनका बिषयमा आफुहरुले उठाउँदै आएको माग संवोधन गर्नेगरी प्रतिवद्धता आएर जारी आन्दोलन रोक्ने संकेत गरेको हो । आजको वार्तामा मोर्चाले प्रदेशको सिमांकनको विषयमा सरकारी टोलीको स्पष्ट धारणा माग गरेको थियो । दुईपक्षबीच झण्डै पौने २ घण्टा भएको वार्ताका क्रममा दुबै पक्षका नेताहरुले सिमाकंनका विषयमा मिलन बिन्दुको विषय के हुनसक्छ भन्ने बारेमा आ–आफ्ना धारणा राखेका थिए । आज ठोस सहमती नभएको भएपनि दुबैपक्षबाट आधिकारिक धारणा सहित आउँदो आईतबार फेरी वार्तामा बस्नेगरी टुङ्गिएको नेताहरुले बताएका छन । आईतबार वार्तामा दुबै पक्ष आन्दोलन रोक्नेगरी आवश्यक तयारीका साथ उपस्थित हुने सहमती भएको सरकारी वार्ता टोलीका सदस्य रामजनम चौधरीले जानकारी दिए । सरकारले गएको सोमबार उप–प्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीले हिजो तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग अनौपचारिक भेट गरेको थियो । अनौपचारिक भेट गरेको भोलिपल्ट मोर्चाको वार्ता टोलीसँग औपचारिक वार्तामा बसेको हो ।
४ कात्तिक २०७२, बुधवार १४:०२ बजे प्रकाशित