चुनावको मिति तोक्ने सहितको स्वायत्त अधिकार देउ : निर्वाचन आयोग
काठमाडौ । निर्वाचन आयोगले निर्वाचनको मिति तोक्ने सहितको स्वायत्त अधिकार आफैँमा रहनुपर्ने प्रस्ताव गरेको छ ।
आव २०७१\७२ को वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार आयोगमा रहेनेगरी स्वायत्त अधिकार दिन माग गरेका हुन । आयोगले दिएका सुझाव संविधानमा समावेश हुन नसकेको र आगामी संविधान संशोधनमा अधिकारसहित आयोगको स्वतन्त्रता अभिवृद्धिका लागि संसद्बाट एकमुष्ट बजेट प्राप्त गरी आवश्यकताअनुसार आफैँले बाँडफाँड गर्न पाउनुपर्ने उनको माग छ ।
आयोगको क्रियाकलाप उपर संसदीय समितिले अनुगमन गर्ने व्यवस्था संवैधानिक अङ्गको स्वतन्त्रता प्रतिकूल हुने, आयोगका पदाधिकारीलाई महाअभियोग लगाउनुअघि संसदीय समितिका सदस्यले उजुरी हेर्ने व्यवस्था हटाउनुपर्ने र आफ्ना कर्मचारीको व्यवस्थापनमा आयोग स्वायत्त हुनुपर्नेमा पनि यादवले जोड दिए ।
१० फागुन २०७२, सोमवार १५:०७ बजे प्रकाशित