आज सहिद दिवस
काठमाडौ, १६ माघ ।शहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको भलाईका लागि काम गर्ने र आफ्नो ज्यानको माया नगरी बलिदानी दिने व्यक्तिलाई बुझिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोष अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ ।
नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । नेपालको इतिहाँसमा त्यसपछिका सवैभन्दा ठुला शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ हुन् ।
उनीहरुलाई पनि राणा शासनकै बेला मारिएको थियो । विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमाको सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथचन्द्र ठाकुरलाई शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधेर गोली हानी हत्या गरिएको थियो । विशेषगरी राजनीतिक परिवर्तनका क्रममा मारिएका व्यक्तिहरु नै शहिद भएकाछन् । २०६२-६३ को राजनीतिक परिवर्तनका क्रममा पनि धेरैजना व्यक्तिहरु शहिद भएका थिए । १९ दिनसम्म चलेको उक्त राजनीतिक आन्दोलनले दुई सय ३७ वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको थियो । यस राजनीतिक आन्दोलनमा तत्कालिन प्रमुख राजनीतिक पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले तथा शसस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिक रुपान्तरण खोजिरहेको तत्कालिन नेकपा माओवादी सम्मिलित थिए । उक्त आन्दोलनका क्रममा २६ जना मारिएका थिए ।
नेपालको इतिहाँसमा केहि यस्ता व्यक्तिहरु छन् जसलाई जिउँदा शहिदका रुपमा सम्मान गरिंदै आएको छ । नेपालमा सबभन्दा पहिला नेपाल प्रजा परिषद् नाम गरेको राजनीतिक पार्टीको स्थापना गरी प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने टङ्कप्रसाद आचार्यलाई जिउँदो शहिद मानिन्छ । उनलाई ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर घाँटीमा सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावास हालिएको थियो । त्यस्तै २०६२-६३ को जनआन्दोलनका क्रममा गम्भीर घाइते भएका मुकेश कायस्थ र विष्णुलाल महर्जन पनि जिउँदा शहीदहरू हुन् ।
शहिद दिवसका अवसरमा हरेक बर्ष शहिद सप्ताह मनाइदै आएको छ । शहिद दिवस प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक आन्दोलनमा जिवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष मनाइन्छ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ । सहिदहरुको बलिदानको प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र प्राप्ति भएको हो । वहाँहरुको बलिदानको गाथा तथा प्रजातान्त्रिक आन्दोलनका बाँकी सवै शहिदहरूको योगदानबारे शहिद दिवसका अवसरमा स्मरण गरिंदै लैनचौरस्थित सहिदपार्कमा विभिन्न कार्यक्रमहरु गरिंदै आएको छ ।
१६ माघ २०७२, शनिवार ०६:१२ बजे प्रकाशित