सङ्कट समाधान गर्न ओलीलाई सघाउनुपर्छ – श्रेष्ठ
विराटनगर, २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मुलुकमा राजनीतिक सङ्कट रहेकाले सबै दल एक जुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले चार महिनादेखि नाकाबन्दीको अवस्था र भूकम्पपीडितको समस्यालाई समाधान गर्नुपर्ने समयमा सरकारलाई कमजोर बनाइयो भने मुलुकमा अन्योल छाउने स्पष्ट पारे ।
उनले संविधानमा सबैको अधिकार सुनिश्चित गरिएको र वैवाहिक अङ्गीकृतलगायत नागरिकता सम्बन्धमा गरिएका व्यवस्थाको विषयमा उत्पन्न भ्रमलाई चिर्न नसकिएको बताए ।
संविधान गतिशील दस्तावेज रहेकाले जनताको चाहना भएमा प्रदेशको सङ्ख्यामा बढोत्तरी हुन सक्ने उनको भनाई थियो ।
पार्टीको १३औँ महाधिवेशनलाई वास्तवमै एकताको महाधिवेशन बनाउनुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले गुटबन्दीबाट माथि उठेर सक्षम व्यक्तिलाई उपयुक्त स्थानमा राख्नुपर्ने वातावरण बनाउनुपर्ने बताए ।
पार्टीको विधान संशोधन भएर उपसभापतिको निर्वाचन भएमा सो पदमा वा महामन्त्रीमा आफू उठ्ने सम्भावना रहेको उनले जानकारी दिए ।
२१ पुस २०७२, मंगलवार ०६:५६ बजे प्रकाशित