चिसो र शीतलहरबाट कैदीबन्दी मारमा
महोत्तरी, २१ पुस । तराई–मधेसमा पछिल्लो समयमा अत्यधिक रुपमा बढदै गइरहेकोे बाक्लो हुस्सु एवम् शीतलहरका कारण महोत्तरी जलेश्वर कारागारमा रहेका कैदीबन्दी प्रत्यक्ष प्रभावित भएका छन् ।
कारागार प्रशासनले आगो ताप्नका लागि दाउरा उपलब्ध नगराएपछि त्यहाँ रहेका सयौँ कैदीबन्दी कठ्याङ्ग्रिदै दिन बिताउन बाध्य छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण जङ्गलबाट दाउरा ल्याउने अवस्था नरहेको जेलर शोभेन्द्र ठाकुरले बताए । सो कारागारमा खाना पकाउनका लागि सुरक्षा दिएर दाउरा ल्याइँदै आएको ठाकुरले जानकारी दिए ।
तीनसय ८९ कैदीबन्दी रहेको सो कारागारमा हाल मासिक रुपमा खाना बनाउनका लागि १२० क्विन्टल दाउरा आवश्यक रहेको जेलर ठाकुरको भनाइ छ ।
एकसय ३५ कैदीबन्दी अट्ने क्षमता रहेको सो कारागारमा हाल ३२ महिला र पाँच आश्रित बालबालिका गरी ३८९ कैदीबन्दीलाई राखिएको छ । विगतका वर्षमा शीतलहर एवम् चिसोपनबाट बच्नका लागि कारागार प्रशासनले तीन खेप गरी तीन सय क्विन्टल दाउरा कैदीबन्दीलाई आगो ताप्नका लागि उपलब्ध गराउँदै आएको थियो ।
यस क्षेत्रमा पछिल्लो समयमा जारी रहेको बाक्लो हुस्सु एवम् शीतलहरको समयमा कैदीबन्दीलाई चिसोबाट बचाउनका लागि सम्बन्धित सरोकारवालाले समयमै ठोस कदम उठाउनुपर्नेमा मानव अधिकारवादीले जोड दिएका छन् ।
२१ पुस २०७२, मंगलवार ०७:०० बजे प्रकाशित