जनचाहना अनुसार योजना बन्नुपर्छ – राज्यमन्त्री शाही
दैलेख, २१ पुस । स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले जनताका चाहनाअनुसार विकासका योजना बन्नुपर्ने बताएकी छन् ।
दुल्लु नगरपालिकाको तेस्रो नगर परिषद्मा उहाँले जनताको आवश्यकताका आधारमा र लक्षित वर्गको बजेट विनियोजन गरी सदुपयोग हुनुपर्ने बताइन् ।
“नेता र पहुँचवालाकै दबदबामा योजना बाँड्ने परम्परा तोड्न सबैले चनाखो भएर लाग्नुपर्छ”, उनले भनिन्, “लक्षित वर्गसम्म बजेट पुगे नपुगेको अनुगमन हुनुपर्छ । ”
आव २०७३ ७४का लागि रु आठ करोड सैंतीस लाख १९ हजार १०० बजेट नगरपालिकाका कार्यकारी अधिकृत दीपेन्द्र शाहीले प्रस्तुत गरेका थिए ।
पुँजीगततर्फ रु चार करोड ३२ लाख ८९ हजार १०० र चालुतर्फ रु चार करोड चार लाख १९ हजार १०० प्रस्ताव गरिएको छ । विसं २०७१ वैशाखमा दुल्लुका छ गाविस मिलाएर नगरपालिका घोषणा गरिएको थियो ।
२१ पुस २०७२, मंगलवार ०६:२० बजे प्रकाशित