प्रहरी सहायक निरिक्षकको गोली हानी हत्या !
सप्तरी, २१ पुस । अज्ञात व्यक्तिको समूहले चलाएको गोलीबाट सप्तरीको झुट्की प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको सोमबार साँझ मृत्यु भएको छ ।
बननियाँ – ६ मा रहेको उक्त चौकीमा दुई भारतीय नंको मोटरसाइकलमा आएका एक अज्ञात समूहले गोली चलाउँदा ३७ वर्षीय सुब्बाको घाइते भएको र उपचारका लागि राजवीराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउँदा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गस्तीमा गएका बेला अज्ञात समूहले गोली चलाउँदा सुब्बाको छाती र खुट्टामा गोली लागेको थियो । झापाको भद्रपुर–१० घर भएका सुब्बा सो प्रहरी चौकीका इन्चार्ज थिए । सप्तरीदेखि १० किमी दक्षिण–पश्चिममा सो घटना भएको थियो ।
सो स्थानमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको र अज्ञात समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
२० पुस २०७२, सोमवार १९:५५ बजे प्रकाशित