किसानलाई पेन्सन दिन सकिँदैन, ब्याजमा अनुदान मात्रै हो : घनश्याम भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार ४० औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताए । तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने उनको टिप्पणी छ ।
कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए । मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए ।
अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उनको भनाई थियो । कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको मन्त्री भुसालले बताए ।
कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर, त्यसमा पनि धेरै काम गर्न नसकेको स्वीकार गरे ।
किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाई छ । कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरे ।
३० असोज २०७७, शुक्रवार १६:३५ बजे प्रकाशित