लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले गरे अस्पताल तोडफोड

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल शुक्रबार राति तनावग्रस्त बनेको छ। पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएकोभन्दै उपचारका लागि लगिएकी विराटनगर महानगरपालिका–३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ ७स्३० बजेतिर मृत्यु भएको हो।

उनलाई छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लगेका थिए। अस्पतालका अनुसार साँझ ६स्३० बजेतिर भर्ना गरिएकी पोखरेलको मृत्यु आकस्मिक कक्षमा राखेर उपचार गर्दागर्दै भएको हो। बिरामीको मृत्युपछि भेला भएका आफन्त, स्थानीय बासिन्दा प्रदर्शन र नाराबाजी गर्दै तोडफोडमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो। उपचारमा चिकित्सकले लापरबाही गरेको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि आईसीयू र भेन्टिलेटरमा राखेर थप उपचार गर्ने व्यवस्था नमिलाइएको भन्दै आफन्त र स्थानीय आक्रोसित बनेका हुन्।

ढुंगामुडा गर्दै उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि हातपात गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज गरेको छ। प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाएपछि राति १२ बजेबाट अवस्था केही साम्य बनेको थियो।

प्रहरीले तोडफोड र चिकित्सकमाथि दुर्व्यवहारको घटनामा संलग्न रहेको भन्दै ६ जनालाई नियन्त्रणमा लिएको छ। तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ। भीडबाट ढुंगामुडा हुँदा विद्यार्थी र चिकित्सक बोक्नका लागि प्रयोग गरिँदै आएको आएको को १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेको जानकारी अस्पतालले दिएको छ।

मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामा ल्याएका कारण तत्काल आकस्मिक कक्षमा राखेर उपचार थाल्दै धेरै प्रयास गरेपनि बचाउन नसकिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए। अस्पताल ल्याएको केही बेरमै बिरामीको मृत्यु भएका कारण उपचारमा चिकित्सकले लापरबाही गरेको भन्न नमिल्ने उनले बताए।
तर आफन्त र स्थानीय भने अस्पतालको कुरा मान्न तयार छैनन्। मृतकका छिमेकी विनेश पौडेलले बिरामीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपनि उपचारमा ध्यान नदिँदा घटना भएको बताए। गम्भीर बिरामीको उपचार सिकारु चिकित्सकका भरमा गरिँदा ज्यान बच्न नसकेको उनको भनाइ छ।
उनका अनुसार चिकित्सकले केही समयको फरकमा सुइमार्फत तीनवटा औषधि दिएका थिए। औषधि दिएको पाँच मिनेटभित्रै बिरामीको अवस्था झन् गम्भीर बनेर गएको पौडेलले बताए। उनले गलत औषधि दिएका कारण पनि बिरामीको मृत्यु भएको हुन सक्ने बताए।

तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्त शव अस्पतालमै छाडेर हिँडेका छन्। बिरामीको मृत्युको कारण स्पष्ट पार्नुपर्ने माग गर्दै उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेर शव अस्पतालमै छाडेका हुन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तोडफोड र चिकित्सकमाथि दुरव्यवहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नु परेको बताए। बिरामीको मृत्यु चिकित्सकको लापरबाहीमा भएमा कानुन अनुसार अघि बढ्न नसक्ने अवस्था हुँदाहुँदै अरु घटना गराउन खोजेको पाइएपछि नियन्त्रणमा लिन प्रहरी अघि बढ्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे।

१ कात्तिक २०७७, शनिवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु