प्रम निवास बालुवाटारमा यसरी छिर्यो कोरोना

 

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत झण्डै ८० जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र प्रमुख स्वकीय सचिव पनि छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये धेरै सुरक्षाकर्मी, सवारी चालकहरु छन् । अझै केहीको परीक्षण रिपोर्ट आउन बाँकी नै रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बालुवाटारमा कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सदस्यमा कोरोना संक्रमण छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेको कोरोना परीक्षण भने नेगेटिभ आएको छ । आफ्ना सचिवालयका धेरै सदस्यमा कोरोना संक्रमण देखिएपछि ओलीले आइतबारदेखि अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेका छन् ।

कसरी भित्रियो सचिवालयमा कोरोना ?

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमडौं उपत्यकामा सबैभन्दा धेरै कोरोना प्रभावित अस्पताल हो । त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहलाई एकहप्ता अघि कोरोना पुष्टि भएको थियो । उनी चिकित्सा शिक्षा अध्ययन संस्थान ९आइओएम०की डिन हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नियमित आउने डा।शाहमा असोज १० गते कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओलीले बिहीबार कोरोना परीक्षण गरेका थिए । डा।शाहको सम्पर्कमा आएका सचिवालयका अन्य सदस्य र सल्लाहकारको कोरोना परीक्षण गरिएको थियो ।

डा।शाहलाई कोरोना देखिएपछि केही सवारी चालक र सुरक्षाकर्मीमा पनि सामान्य लक्षण देखिएको थियो । शुक्रबार बालुवाटारमा कार्यरत झण्डै १ सय ५० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये झण्डै ८० जनामा कोरोना पुष्टि भएको छ ।

बालुवाटार स्रोतले त्रिवि शिक्षण अस्पताल र सुरक्षाकर्मीबाट बालुवाटारमा कोरोना संक्रमण भित्रिएको अनुमान गरिएको जनाएको छ । सल्लाहकार र स्वकीय सचिवमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले विशेष सावधानी अप्नाएका छन् ।

१८ असोज २०७७, आइतवार १०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु