नेपालमा थप ६ जनाको ज्यान गयो, ७०७ जना सङ्क्रमित
सबैभन्दा बढी प्रदेश नं २ र वाग्मती प्रदेशमा
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ७०७ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २९,६४५ पुगेको छ।
अहिले देशभरि ११,५५५ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए।
सङ्क्रमितहरूमध्ये ३,७७२ जना घरमै र बाँकी ८,०८३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
निजी अस्पतालले सहयोग नगरे अदालत जाने प्रदेश सरकारको चेतावनी, सञ्चालक के भन्छन्
काठमाण्डू उपत्यकामा बुधवार मध्यरातबाट के(केमा रोक लाग्दैछ
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सङ्क्रमितहरू काठमाण्डूका १७४ जना, सर्लाही ९३ जना र पर्सामा ५५ जना रहेका छन्।
ललितपुरका १८ र भक्तपुरका आठ गरी बुधवार काठमाण्डू उपत्यकामा २०० जना सङ्क्रमित थपिएका छन्।
विगत २४ घण्टामा ११,८३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
सोही अवधिमा २६४ जना भाइरसमुक्त प्रमाणित भए।
मन्त्रालयका अनुसार अहिलेसम्म १७,९६४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।
देशभरि क्वारन्टीनमा ११,७६८ जना छन्।
अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।
४ भदौ २०७७, बिहीवार १६:३८ बजे प्रकाशित





