एमसीसी संसदमा नलैजाने सभामुखको अडान यथावत

५ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यथास्थितिमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) संसदमा नलैजाने अडान यथावत रहेको बताएका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले जसरी पनि एमसीसीलाई संसदमा टेबुल गर्ने प्रयास गरिरहेका बेला सभामुखले राष्ट्रिय सहमति वा सर्वदलीय सहमतिबिना एमसीसी अगाडि नबढ्ने आफ्नो अडान यथावत रहेको आफु निकटस्थहरुहरुलाई सुनाएका हुन् । एमसीसी रोकेको भनेर लागेको आरोप खेप्न तयार हुने तर, दलहरुको बीचमा सहमति नभइ आउने एमसीसी अगाडि बढाउन तयार नहुने सभामुख सापकोटाको प्रष्ट अडान रहेको उनलाई भेटेका नेताहरु बताउँछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको कुराकानीमा समेत सभामुख सापकोटाले यहि अडान निरन्तर राख्दै आएका छन् । एमसीसी सम्झौता संसद्मा दर्ता भएको छ । सरकारले चाहेको खण्डमा यो विषय संसदमा अगाडि बढ्न सक्छ । तर, सभामुख सापकोटाले सरकारले चाहँदैमा एमसीसीलाई सहज अगाडि बढ्न नदिने रणनीति अपनाएका हुन् । माओवादी नेता दिनानाथ शर्मा पनि सभामुखले नचाहँदासम्म एमसीसी संसदमा टेबुल हुन नसक्ने बताउँछन् । सभामुखले दलीय सहमाति भनिरहेकाले सभामुख एमसीसी टेबेल गर्न तयार हुन्छन् भन्ने विश्वास नेता शर्मालाई छैन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले सभामुखसंग छलफल गरेका थिए । छलफलमा सभामुख सापकोटाले यथास्थितिमा एमसीसी अगाडि बढाउन तयार नरहेको जवाफ दिएका छन् । ५ फागुनमा बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेस गर्ने सरकारको तयारी थियो ।

तर, माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबुल भए मात्रै पनि सरकार छोड्ने चेतावनी दिएपछि रोकिएको हो । प्रचण्डसंगको भेटमा पनि सभामुखले यथास्थितिमा एमसीसी अघि नबढ्ने बताउँदै आएका छन् । उनले आफू संसद्मै मर्न तयार रहेको, तर एमसीसी सम्झौता टेबल गर्न नदिने अडान सुनाएका छन् । ‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने ? म पेस गर्नै दिन्न, बरु त्यहीँ मर्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने । त्यति मात्रै होइन, सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण अप्ठ्यारोमा पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे । तर, प्रधान मन्त्री देउवा जसरी पनि एमसीसी सम्झौता संसद्मा टेबल गराउने प्रयासमा छन् । बिहीबार मात्र सत्तारुढ चार दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले यहि बताएका छन् ।

एमसीसी सम्झौता संसद्मा टेबल गर्ने भन्दै उनले सहमत नभए भोट नहाल्न सक्ने बताएका थिए । तर सभामुखको अडान बुझेका प्रचण्डसहितका नेताहरुले प्रधान मन्त्री देउवालाई रोक्ने प्रयास जारी राखेका छन् । यसअघि पनि सभामुख सापकोटाले एमसीसीमा सर्वदलीय र राष्ट्रिय सहमतिको कुरा गर्दै आएका थिए । पछिल्लो समय गठबन्धनमा सहमति भए पनि हुने बताउने गर्दथे । तर, गठबन्धनमा सहमति हुन्छ कि भन्ने त्रासमा पुगेपछि उनले अब गठबन्धनमा सहमति भए पनि आफूलाई अध्ययन गर्न थप समय चाहिने बताएर एमसीसी रोक्न खोजेका छन् ।

५ फागुन २०७८, बिहीवार २०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु