सरकारले बजेट कार्यान्वयन गर्छ , यसमा दुविधा राख्नुपर्ने छैन : अर्थमन्त्री  पौडेल

१६ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।

पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । बजेट कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे ।

‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं,’ उनले भने ।

उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।

‘योभन्दा अर्को वैधानिक विकल्प थिएन । यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन मिल्दैनथ्यो,’ उनले भने ।

सरकारले महामारीलाई ध्यानमा राखेर नै बजेटमा कर छुटको व्यवस्था तथा राहातको कार्यक्रम प्रस्तुत गरेको अर्थमन्त्रीको भनाइ थियो । ‘ मतदातालाई रिझाउन नभई सरकारले जनता तथा राष्ट्रको जिम्मेवारी पूरा गर्नका लागि बजेट ल्याएको हो’, पौडेलले भने ।

सरकारले जनताको जीवनरक्षा गर्ने हिसावले बजेट प्रस्तुत गरेको उनको भनाइ थियो ।आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।

मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन,’ उनले भने ।

अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए । ‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिनेछ । निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ,’ उनले भने ।

सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको अर्थमन्त्री पौडेलले बताए ।

खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट उनको भनाइ छ । अर्थमन्त्री पौडेलले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको दावी गरे ।

संबैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए ।

उनले बजेटले वर्तमान चुनौतीलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए ।

१६ जेठ २०७८, आइतवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु