सुन आयात रोकिँदा जोगियो १२ अर्ब
एक अर्ब २७ करोड राजस्व गुम्यो
कोरोना महामारीपछि सुनको बिक्रीमा आएको भारी गिरावटसँगै पाँच महिनादेखि सुनको आयात पूर्ण रूपमा ठप्प भएको छ ।
दैनिक १० केजीका दरले आउने सुन आयात रोकिएपछि १२ अर्ब ३५ करोड विदेशिनबाट जोगिएको छ भने यसवापत सरकारले पाउने १ अर्ब २७ करोड राजस्व पनि गुमेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि गत ११ चैतदेखि लकडाउन गरेको थियो । लकडाउनपछि हालसम्म सुनको आयात ठप्प भएको भन्सार विभागको तथ्यांक छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सामान्य अवस्थामा दैनिक १० केजीका दरले महिनामा ३ सय किलो सुन आयात हुने गरेको थियो ।
महासंघका अनुसार प्रतिकेजी सुन आयात गर्दा १ लाख ८२ हजार रुपैयाँ बाहिरिने गरेको छ । पाँच महिना अवधिमा १५ सय किलो सुन आयात गर्दा १२ अर्ब ३५ करोड रुपैयाँ बाहिरिने भएपनि सुनको बिक्री नहुँदा त्यो रोकिएको महासंघले जानकारी दिएको छ ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले लकडाउनका कारण कारोबार नहुँदा विगत पाँच महिनादेखि सुनको आयात पूर्णरूपमा ठप्प भएको जानकारी दिए ।
“सामान्य अवस्थामा १० केजीका दरले महिनामा ३ सय किलो सुन आयात हुने गरेको थियो,” उनले भने, “सो अवधिमा सुन आयात हुने १२ अर्ब ३५ करोड रुपैयाँ नेपालमै रहेको छ ।” उनका अनुसार सो वापत पाँच महिनाको अवधिमा मात्र सुन आयात गरे वापत सरकारलाई एक अर्ब २७ करोड ५० लाख रुपैयाँ राजस्व दिनुपर्ने थियो ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनको भन्सारदर बढाएको थियो । प्रति दशग्राम सुनमा दुई हजार रुपैयाँ भन्सारदर बढाएको थियो । अहिले प्रति दशग्राम सुनको भन्सारदर ८ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ ।
दैनिक २० केजीका दरले १५ वटा बैंकले मुलुकमा सुन आयात गर्दै आएका थिए । चैतदेखि राष्ट्र बैंकले सुनको कोटा घटाएर १० केजीमा झारेको थियो । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार नहुँदा आयात ठप्प भएको व्यवसायीको भनाई छ ।
लकडाउनका कारण ३ महिना पूर्णरूपमा सुनचाँदी बजार बन्द रहेको थियो । बजार खुलेपछि पनि मूल्य बढेकाले सुनको कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएको र भन्सार दर बढेकाले पनि स्थानीय बजारमा सुनको मूल्य थप बढेको थियो । लगातार मूल्य बढेपछि समेत कारोबार नभएकाले सुनको आयात पूर्ण रूपमा ठप्प भएको थियो । पछिल्लो बजारमा सुनको मूल्य निरन्तर रूपमा उकालो लाग्दै गएपछि स्थानीय बजारमा कारोबार शून्य भएको छ ।
लकडाउनपछि बजार खुल्दा प्रतितोला ८७ हजार रहेको सुनको मूल्य बढेर १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । पछिल्लो समय सुनको मूल्यमा सामान्य गिरावट आएर तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
साउन महिनामा १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य घटेर ९५ हजार चार सय रुपैयाँमा झरेको थियो । साउनको दुई हप्तामा २ सय ४० केजी सुुन बिक्री भएको र अहिले पूर्ण रूपमा सुनको कारोबार ठप्प रहेको व्यवसायीहरू बताउँछन् । सामान्य अवस्थामा सिजनको समयमा ३० देखि ४० किलो सुनको बिक्री हुने गरेको थियो । गत वर्षदेखि नै मूल्य बढेसँगै सुनको कारोबार घट्दै गएको छ ।
१५ भदौ २०७७, सोमवार ०८:३८ बजे प्रकाशित