ज्यान मुद्दाका फरार अभियुक्त रामकुमार १६ वर्षपछि पक्राउ

प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
चितवनको कठराका जीवन लोहनीको हत्या संलग्न भई फरार रहेका झापाका रामकुमार गिरीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
काठमाडौँ रानीबारी बस्ने लोहनीको हत्या आरोपमा झापाको मेचीनगर नगरपालिका–७ आर्याबारीका ३३ वर्षीय गिरीलाई भक्तपुर चाँगुनारायण नगरपालिकाबाट सोमबार पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले बताए ।
पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको र म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको महाशाखाले जनाएको छ ।
काठमाडौं रानिबारी बस्ने लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेका थिए । लामाले मुन्द्रा नदिएपछि सोही विषयमा विवाद हुँदा लोहनीले लामालाई कुटपिट गरेका अनुसन्धानबाट खुलेको थियो ।
लामालाई कुटपिट गरेको भन्दै हाल पक्राउ परेका गिरीसहितको टोलीले लोहनीलाई २०६१ माघ ११ गते सामाखुसीमा कुटपिट गरेको थियो ।
सोही क्रममा केही दिनपछि लोहनीको उपचारको क्रममा मृत्यु भयो । लोहनीको मृत्युमा संलग्न गिरीलाई अदालतले २०६४ असार ११ गते दोषी ठहर गर्दै कैद सजाय तोक्यो ।
हाल पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला आदालतले २०६४ असार ११ गते कर्तव्य ज्यानको कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको थियो।
तर गिरी भने फरार भएका थिए ।
अदालतको आदेशपछि भित्रभित्र सेटिङ मिलाएर गिरी खाडी मुलुक विदेश गए ।
अनुसन्धानको क्रममा गिरी ५ वर्षभन्दा बढि विदेशमा बसेर नेपाल फर्किएका गिरी लुकिछिपी बसे ।
केही समयअघि नेपाल आएका उनी हरि गिरी, सनोज गिरी भनेर नाम परिवर्तन गरेर लुकिछिपी बस्दै आएका थिए । सोही क्रममा प्रहरीले पछ्याउँदै जाँदा सोमबार गिरीलाई भक्तपुरको चाँगुनारायणबाट महाशाखाको टोलीले पक्राउ गरेको हो ।
२४ कात्तिक २०७७, सोमवार १८:०३ बजे प्रकाशित