नेकपा बैठकमा मन्त्रिमण्डल पुनर्गठनको चर्चा तर, भएन निर्णय

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सैद्धान्तिक सहमति भएको छ ।
अबको केही दिनमै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्नेछन् ।
ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई प्रभावकारी बनाउने तयारी स्वरुप तत्काल तत्काल कम्तिमा पनि १० जना परिवर्तन गर्ने तयारी गरेका थिए ।
तर, कार्यदलले प्रतिवेदन दिन ढिला गरेकाले मन्त्रिमण्डल पुनर्गठन पनि ढिलागरी मात्रै हुने भएको छ ।
कार्यदलले आइतबार बेलुकीसम्म प्रतिवेदन दिने अपेक्षा गरेका अध्यक्षद्वयले सोमबार बिहान बस्ने सचिवालय बैठकबाट सैद्धान्तिक छलफल गरेर व्यक्तिको विषयमा निर्णय गर्ने तयारी गरेका थिए । तर, विवाद समाधानका लागि सुझाव दिन गठन भएको कार्यदलले अझै एक दुईदिनमा मात्रै प्रतिवेदन बुझाउने भएको छ ।
अब कहिले होला त ?
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा यो विषयमा शब्द पनि उच्चारण नभएको एक सचिवालय सदस्यले जानकारी दिए । उनले भने, ‘आजको बैठकमा यो विषयमा शब्दसमेत उच्चारण भएन । हामी पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई सकभर सरकारमा लैजानेगरी छलफल भएको छ । तर व्यक्तिको विषय भने टुंगो लागेको छैन ।’
अध्यक्षद्वय ओली प्रचण्डले कार्यदलको प्रतिवेदन आएपछि लगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने वा स्थायी कमिटी बैठकपछि गर्ने भन्ने टुंगो लगाएका छैनन् । ओलीले कार्यदलको प्रतिवेदन आए लगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने मनस्थिति बनाएका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकपछि मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने पक्षमा छन् ।
सचिवालय सदस्य भन्छन्, ‘प्रधानमन्त्रीलाई पहिले नै मन्त्रिमण्डल पुनर्गठन गर्दा पार्टी बैठकमा राम्रो हुने परेको छ । अर्का अध्यक्षलाई बैठकपछि गर्दा सजिलो हुने देखिएको छ । त्यसैले अबको १०–१५ दिनपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना छ । कार्यदलले प्रतिवेदन दिएको भए चाहीँ आजको बैठकमा पनि यो विषयमा सैद्धान्तिक मात्रै छलफल हुने थियो ।’
अध्यक्षद्वयको सहमतिमा पनि मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय छ । दुई वर्ष पुगेका सबैजना परिवर्तन गर्ने वा प्राथमिकताका आधारमा कम्तिमा १० जना परिवर्तन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।
पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीकोरुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशु र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् ।
त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा छन् ।
संविधान अनुसार प्रतिनिधिसभाको चुनाव हारेको व्यक्ति मन्त्री हुन नपाउने व्यवस्था छ ।
शक्ति सन्तुलनका लागि केही मुख्यमन्त्री परिवर्तन गर्नेगरी गृहकार्य सुरु भएको छ । वागमती, प्रदेश ५ र प्रदेश १ मध्ये दुईवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । नेकपाभित्र सबै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने विषयमा पनि छलफल चलिरहेको छ ।
१ भदौ २०७७, सोमवार २२:५१ बजे प्रकाशित