निजी क्षेत्र हेर्न पाउनुपर्ने अख्तियारको माग
११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले निजी क्षेत्रको भ्रष्टाचार हेर्र्ने अधिकार आयोगलाई दिने गरी कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
निजी क्षेत्र भनेर सबै नभनी जनताको लगानी भएको ‘पब्लिक’ क्षेत्र जनताको प्रत्यक्ष सरोकार र लगानी भएको क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने माग आफुहरूको रहेको प्रमुख आयुक्त नवीन घिमिरेले बताए ।
आइतवार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रस्तुतीकरण गर्दै आयोगका सचिव सुरेश अधिकारीले निजी क्षेत्रबारे थप व्याख्या गरे ।
अधिकारीले भने, ‘बैंक, वित्तीय क्षेत्र, बीमा कम्पनी र सहकारीमा हुने अनियमितताको छानविन र अनुसन्धान अख्तियारले गर्न पाउनुपर्छ ।’
यही विषयलाई समेटेर ल्याइएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा विचाराधीन छ ।
यो विधेयकमा जनताको प्रत्यक्ष सरोकार र लगानी भएको क्षेत्रको भ्रष्टाचार छानविन गर्ने अधिकार आयोगमा रहने गरी व्यवस्था गरिदिन आयोगका पदाधिकारीहरुले समितिसमक्ष आग्रह गरेका छन् ।
११ साउन २०७७, आइतवार २३:४८ बजे प्रकाशित












