संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभा सचिवालयका दर्ता गरेको छ ।

प्रादेशिक संरचना र संघीयतासँग सम्बन्धित रहेका संविधानको ९२ ठाउँमा संशोधन माग गर्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयक दर्ता गरेकी हुन् ।

स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने नै आफ्नो मुख्य प्रस्ताव रहेको पौडेलले बताइन् ।

‘स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने भन्ने हो । संघीयतासम्बन्धी व्यवस्था रहेका ९२ ठाउँमा संशोधन प्रस्ताव गरिएको छ’ पौडेलले भनिन् ।

यसअघि राजपा नेपाल र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन विधेयक दर्ता गरेका छन् । कांग्रेसका ८ जना सांसदले पनि संशोधन विधेयक दर्ता गरेका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सालाई संवैधानिक मान्यता दिन सरकारले निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक ल्याएपछि अन्य दलहरुले आफ्ना माग समेटेर संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

२१ जेठ २०७७, बुधवार १५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु