जेठभित्रै बजेट अधिवेशन अन्त्य गर्ने तयारी
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि छलफल जारी छ ।
जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि १८ र १९ गते सैद्धान्तिक छलफल भयो । अब विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल २३ गतेबाट सुरु हुँदैछ
जेठ २३, २४ र २५ गते मन्त्रालयगत शीर्षकमाथिको छलफल गर्ने र २६ गते सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ ।
जेठ २७ गतेपछिको कार्यसूची तय हुन बाँकी छ ।
सम्भावित कार्यक्रममा आगामी असार १५ गतेसम्म विनियोजन विधेयक (बजेट) पारित गर्ने र विनियोजन विधेयकका आश्रित विधेयक (आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत) हरु पारित गरिसक्ने उल्लेख छ । असार १७ गतेपछिसदनमा प्राप्त विधेयकहरुमाथि छलफल निरन्तर गर्ने भनिएको छ ।
कहिलेसम्म बजेट अधिवेशन ?
गत वर्ष बैशाख १६ गतेबाट सुरु भएको बजेट अधिवेशन असोज २ गतेसम्म चलेको थियो ।
यसबर्ष बैशाख २६ गतेबाट बजेट अधिवेशन सुरु भएको थियो । संसद सचिवालय र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अनुसार यस वर्ष बजेट पास भएलगत्तै सक्ने चालु अधिवेशन सक्नेबारे छलफल जारी छ ।
नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अहिलेको प्राथमिकता बजेट र नक्सा परिवर्तन सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्नु मात्रै हो । यो अधिवेशन कहिलेसम्म जाला भन्ने प्रश्नमा नेम्वाङ भन्छन्, ‘बजेट पास गर्न बाँकी छ । संविधान संशोधन विधेयक पास गर्न बाँकी छ । यि देखिएका एजेण्डा हुन् ।’
सभामुखको सचिवालयले पनि कोरोना महामारीको संकटका बेला संसद लम्ब्याउने पक्षमा नरहेको जनाएको छ ।
बजेट जेठ भित्रै पारित गरेर चालु अधिवेशन अन्त्यबारे संसद सचिवालय र दलहरुबीच छलफल भइरहेको छ ।
२१ जेठ २०७७, बुधवार १४:५७ बजे प्रकाशित













