प्रचण्ड-नेपालसँग गले ओली, सचिवालय बैठकले बोलायो स्थायी कमिटी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा गलेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल गठबन्धनसँग ओली गलेका हुन् ।
प्रधानमन्त्री ओली गलेसँगै नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । यसअघि ओली पक्ष स्थायी कमिटीको बैठक बोलाउने पक्षमा थिएन ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार २५ वैशाखमा स्थायी कमिटी बैठक बस्नेछ । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्नेछ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आत्मालोचना पनि गरेका छन् ।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ ।
बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
बामदेव गौतमलाई सांसद बनाउने
यसैगरी नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुत्तm समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ ।
बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । प्रधानमन्त्री बन्न पहिले सांसद हुनुपर्छ । त्यो पनि प्रतिनिधि सभा सदस्य । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था छैन् । संविधान नै संशोधन गरेर भएपनि गौत्तमलाई सांसद बनाएर सरकारमा लैजाने चर्चा लामो समयदेखि हुँदै आएको छ ।
तेस्रो अध्यक्षको च्याप्टर क्लोज
नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो बरियताको अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।
शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता नेपाललाई तेस्रो बरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीका तर्फबाट प्रस्ताव गरिएकोमा नेता नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माधव नेपाल पक्षले माग राख्दै आएको छ ।
अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् । बरिष्ठ नेता नेपाल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुन् ।
यो पटकलाई भने नेता नेपालले नै अस्वीकार गरेपछि तेस्रो अध्यक्षको च्याप्टर क्लोज भएको छ ।
यो पनि पढ्नुहोस्
नेकपा सचिवालय बैठक सकियो, बामदेवलाई सांसद बनाउने निर्णय
नेता नेपालले अस्वीकार गरेपछि तेस्रो अध्यक्षको च्याप्टर क्लोज
नेकपा सचिवालय बैठक, ओलीले संगै राखे प्रचण्डलाई
बामदेवका लागि ओलीले फ्याले अर्को कार्ड- उपप्रधानमन्त्री बन्न प्रस्ताव
२० वैशाख २०७७, शनिवार १५:११ बजे प्रकाशित





