कोरोना प्रभाव : आईपीएल अनिश्चितकालका लागि स्थगित
काठमाडौं । भारतमा आयोजना हुने विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग ९आईपीएल० को १३ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएकोछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई अन्तर्गत आईपीएल गभर्निङ काउन्सिलले बिहीबार यस सिजनको आईपीएल अर्को सूचना नआउँदासम्म स्थगित भएको जनाएको छ ।
यसअघि नै कोरोना संक्रमण त्रासले गर्दा आईपीएल मार्च २९ बाट अप्रिल १५ सम्मलाई सारिएको थियो । तर भारत सरकारले मे ३ सम्म लकडाउन बढाएपछि आईपीएल स्थगित गरिएको हो ।
यसअघि नै बीसीसीआईले फ्रेन्चाइज क्लबहरुलाई आईपीएल स्थगित हुने जानकारी गराइसकेको थियो । तर बिहीबार आधिकारिक रुपमा स्थगित भएको घोषणा गरेको हो ।
‘कोभिड १९ का कारण विश्व स्वास्थ्यमा पारेको असर अनि महामारी फैलन नदिन भारत सरकारले लकडाउन लागू गरेपछि बीसीसीआईको आईपीएल गभर्निङ काउन्सिलले आईपीएल २०२० अर्को सूचना नआउँदासम्म स्थगित गरेको छ’ बीसीसीआई सचिव जय शाहद्वारा विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्र र खेलकुदसंग सम्बन्धित सबैको स्वास्थ्य र सुरक्षा मुख्य प्राथमिकतामा रहेको भन्दै बीसीसीआईले सबै क्लब, प्रशारक र प्रायोजकहरु अवस्था अनुकुल बनेपछि मात्र लिग गर्न सहमत भएको जनाएको छ ।
६ वैशाख २०७७, शनिवार ००:५६ बजे प्रकाशित





