यस्तै रह्यो यस वर्षको चैते दशैं

आहा ! चैते दशैं … यसबर्ष अच्छा भयो जस्तो लागेको थियो गतबर्ष । तर, यसबर्ष के भनौं विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले खाइदियो । न किनमेल न बजार घुमघाम ।

गत बर्ष धेरै साथीहरु भेट भएर बिहान दशैं, दिउँसो साथीहरुसँग घुम्न गएर दशैं, बेलुका परिवारका सदस्यहरुसँग दशैं । दशैंको केही दिन अघि किनमेल । साह्रै रमाइलो भएको थियो । यसबर्ष पनि त्यस्तै प्लान थियो ।

तर, सरकारले कोरोना भाइरस फैलिन नदिन देशभर लकडाउन गरेको छ । साथीहरुसँग भेटघाट, परिवारसँगको रमाइलो सबै लकडाउनका कारण स्वाहा । लकडाउनका कारण रमाइलो गर्न पाइएन भन्ने भन्दा पिर कोरोना कै छ ।

दशैं त अर्को बर्ष पनि मनाउन पाइएला । तर, यसबर्षको दशैं कोरोनाका कारण कसैले मृत्युवरण गर्न नपरोस भन्ने कामना गर्दै मनाइयो ।

हुन त नेपालमा हालसम्म कोरोनाको संक्रमण ५ जनामा फेला परेको हो । एक जनामा निको भइसकेको छ भने बाँकी ४ जना उपचाररत छन् । उनीहरु पनि गम्भीर छैनन् । डाक्टरहरुका अनुसार चाँडै निको हुँदैछन् ।

सरकारले बाँकीमा कोराना नफैलियोस भनेर उच्च सर्तकता अपनाएको छ । कसैलाई लागिसकेको छ कि भनेर परीक्षणलाई तिव्र बनाएको छ । उच्च ज्वरो आयो, टाउको दुख्यो वा असजिलो भयो भने स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्न भनेको छ । विदेशबाट आएकाहरुलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ ।

विश्वभर ४० हजार भन्दा बढीको ज्यान लिइसकेको कोरोना भइरसका कारण मेरो जस्तै दशैं सबै हिन्दुधर्मालम्बीहरुको भयो । हुन त सबै मानिसहरु यो रोगको त्रासमा छन् । तर, दशैं हिन्दुहरुको पर्व भएकाले हिन्दुहरु भनिएको हो ।

घरभित्रै जे छ त्यहि खाएर बित्यो । रमाइलो पनि कतिपयले गरे होलान तर कोरोनाको त्रासले के रमाइलो भयो होला र !

कोरोनाको त्रासमा भए पनि आफ्नो संस्कृतिलाई निरन्तरता दिनै पर्यो । कतिपयले दुर्गालाई बली चढाए पनि । तर, मासुको चोक्टा टोक्दै गर्दा कोरोनाले लगेको ४० हजार बढी र त्राही त्राहीमा रहेमा विश्व समुदायलाई सम्झँदा के स्वाद आयो होला र !

अर्कोतर्फ दशैंमा विदेशमा गएकाहरु पनि घर आउँथे । असोजमा पर्ने दशैंमा घर आउन नभ्यएकाहरु चैते दशैं छ नि ! भन्थे । विदेशबाट आउनेहरुसँग बाक्लै भेटघाट हुन्थ्यो विगतमा ।
यसपाला त कोही विदेशबाट आएको छ भन्ने थाहा पाउने वित्तिकै क्यारेन्टाइनमा बसेको छ वा छैन ? सोध्ने, धेरै टाढा रहने वा तर्किने । कस्तो भयो होला ति विदेशबाट आउनेहरुको मन, आफ्नैहरुले पनि तर्किएर कुरा गर्दा, टाढा टाढा भाग्दा ।

तर, यो बाध्यतालाई नेपालीहरुले बुझेका छन् । आफु पनि बच्ने र अरुलाई पनि बचाउने । केही गरी संक्रमण भएको रहेछ भने अरुलाई सार्न भएन । राम्रो ख्याल गरी चिकित्सकहरुले भनेको मान्दा लागेकै रहेछ भने पनि त निको हुन्छ ।

जे होस गरिबहरुले चाडपर्व आएपछि कसरी मनाउने होला भन्ने चिन्ता गर्दथे विगतमा । ‘दशै नै होकि यो मेरो दशा’ भन्ने गीत खुब गुनगुनाउने । यसबर्ष को गरिब को धनी सबैले घरभित्रै बसेर यहि गीत सम्झिए होलान –‘दशै नै होकि यो मेरो दशा’

बाहिर निस्कनु पनि कसरी ? देख्ने वित्तिकै पुलिसले उभिनुस्, पछाडि फर्किनुस भन्दै अंकुशेले समात्दै गाडीमा हाल्छ । स्कुलमा पिटी खेलाए जस्तो गरी कारबाहीका लागि भागीदार बनाउँछ ।

गाडीमा उक्लेछि भन्छ– तपाईले लकडाउन उलंघन गर्नुभयो अब कानुन अनुसार कारबाही हुन्छ ।
नेपालीहरुले नेपाल बन्द पनि खुबै भोगेका छन् । त्यो बेला त साँझ पछि खुल्ने हुन्थ्यो । तर, लकडाउनमा त त्यो भन्दा पनि कडा ।

बुझेर पनि बुझ पचाएका हुन कि बाध्यता हो रातारात गाडीमा राजधानी छोड्नेहरु पनि भेटिए । राती नै गएर प्रहरीले बल्खु, कोटेश्वर लगायतका क्षेत्रबाट राजधानी छोड्न खोज्नेहरुलाई फर्काएको समाचार पनि भइरल भएका छन् । गाडी चालकहरु पनि कस्ता हुन – तरकारी बोक्ने गाडीमा मान्छे राखेर पालले छोपेर लग्दै गरेका ।

उता सिमामा दुखमा आफ्नै देश जान्छु भनेर आएकाहरु अलपत्र छन् । सरकार जहाँको त्यहिँ बस भन्छ । सिमामा अलपत्र परेका नेपालीहरु आफ्नै देश पनि आउन किन नपाउने भनेर नाराबाजी गरिरहेका छन् ।

कतिपयको बाध्यता पनि होला तर यो बेला जहाँ जस्तो अवस्थामा छ त्यसैमा रहेर आफ्नो र सम्पूर्ण मानव जातीको हितका लागि सोच्ने बेला हो । खान बस्न समस्या भए सम्बन्धित देशकै सरकारले हेर्ने भनेकै छ । परिवारको मायाले होला उनीहरु सब छोडेर घर परिवार सम्झिरहेका छन् ।

यस्तै रह्यो यसबर्षको दशैं । कतै सिमामा नाराबाजी, कतै घरभित्रै परिवारका सदस्यहरुबीच सामाजिक दुरी । कोही अस्पतालमा पनि छन, कोही क्वारेन्ठाइनमा छन् ।

जे भएपछि सरकारले भनेको मानौं । सामाजिक दुर िकायम गरौं । भेटघाट, जाँडरक्सी, जुवातासमा नलागौं । कोरोना आफ्नै हेलचक्र्याईले लाग्न सक्छ । सचेत रहौं । मर्ने रहर कसैलाई हुदैन । सकेसम्म कोरोनाको सिकार नबनौ ।

सरकारले यही भनेको छ मनौं भन्दै वित्यो दशैं आफुसँग भएको बाँडेर खाऔं, मान्छेलाई मात्रै नभएर संरक्षक नभएका सडक कुकुर, बाँदर, गाईवस्तुलाई पनि दिऔं । जय मानव, जय दुर्गामाता ।

 

१७ असार २०७७, बुधवार १५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु