म्युजिक कम्पनी सञ्चालकद्धय अर्जुन र रञ्जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । प्रहरीले म्युजिक कम्पनी सञ्चालकद्धय अर्जुन महर्जन र भगवानकुमार श्रेष्ठविरुद्धपक्राउ पुर्जी जारी गरेको छ ।
इन्द्रेणी क्यासेट सेन्टरका सञ्चालक अर्जुन महर्जन र रञ्जना म्युजिक इन्ड्रस्ट्रिजका सञ्चालक भगवानकुमार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार उनीहरुविरुद्ध प्रतिलिपि अधिकार हननको मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी गरिएको हो ।
माघ २६ गते गायक राजन इशानले आफ्नो गीत बसमा छैन मन’ बिनास्वीकृति बेचेको भन्दै दुई कम्पनीका सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।
इन्द्रेणी र रञ्जनाले बसमा छैन मन’ गीत एल्बममा राखेर अमेरिकाको ओर्काड नामक कम्पनीमार्फत संसारभरका पोर्टलमा बेचेको इशानको आरोप छ। ओर्काड सोनीको भगिनी कम्पनी हो। इशानले भने, ‘मेरो गीत मलाई थाहा नदिई बेचियो, त्यसैले कानुनी बाटो रोज्न बाध्य भए।’ प्रहरीकहाँ पुग्न अगाडि कम्पनी सञ्चालकसँग भेटेको तर उनीहरुले क्षतिपूर्ति दिन नमानेको उनले बताए। ‘ क्षतिपूर्तिको सट्टा मेरो एउटा गीत सित्तैमा रेकर्ड गरिदिन्छु भन्नुभयो, त्यो मलाई स्वीकार्य भएन।’
इशानसहित प्रतिलिपि अधिकार पीडित स्रष्टाहरु लामो समयदेखी आन्दोलतरत छन्। प्रहरीले उजुरी बेवास्ता गरेको भन्दै स्रष्टाले यसअघि गृहमन्त्री रामबहादुर थापालाई भेटेका थिए। ‘यो सुरुवात मात्र हो, अब पीडित स्रष्टाले क्रमिक रुपमा मुद्दा दायर गर्छौ। सबै प्रमाणहरु संकलन गरिसकेका छौं,’ अभियानमा सक्रिय संगीतकार लक्ष्मण शेषले भने
२ फागुन २०७६, शुक्रवार १५:०५ बजे प्रकाशित





