मायामी ओपन टेनिस पुरुषतर्फको उपाधि इस्नरले जिते
चैत १९ – अमेरिकाको मायामीमा सम्पन्न मायामी ओपन टेनिसको पुरुषतर्फको उपाधि घरेलु खेलाडी जोन इस्नरले जितेका छन् । फाइनलमा जर्मनीका एलेक्जेन्डर भरेभलाई हराउँदै इस्नरले करियरको सबैभन्दा ठूलो उपाधि हात पारे ।
फ्लोरिडामा भएको फाइनलमा ३२ वर्षे इस्नरले भरेभलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराए । विश्व वरियतामा अहिले १७ औं स्थानमा रहेका इस्नरले भरेभको एक सेटको अग्रता उल्ट्याएका हुन् । पहिलो सेट भरेभले टाइब्रेकरमा सात छ ले जितेका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गर्दै इस्नरले करियरकै पहिलो ठूलो उपाधि जिते ।
उनले दोस्रो सेटमा भरेभको दुई सर्भिस ब्रेक गर्दै ६–४ ले जित हात पारे भने तेस्रो तथा अन्तिम सेटमा पनि ६–४ ले नै विजयी भए । अन्तिम सेटमा भरेभले २० वटा ब्रेक पोइन्टलाई बचाए पनि अन्तिममा इस्नरले एस सर्भिस गर्दै जित निकाले । यो उपाधिसँगै इस्नर नयाँ वरियतामा शीर्ष १० मा पुग्नेछन् ।
१९ चैत २०७४, सोमवार ०३:१० बजे प्रकाशित













