दुर्घटना बढेपछि नयाँ नियम लाइसेन्स खारेज !

सुस्मिता बजगाईं

काठमाडौँ, १२ भदौँ । सरकारले सवारी तथा यातायात नियमावली संशोधन गर्दै कडा नियम लागु गर्ने तयारी गरेको छ । लापरवाही गरी सवारी दुर्घट्ना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुनेसम्मको कडा नियम सरकारले लागु गर्ने भएको छ । व्यवस्थापिका संसदमा एमाले सांसद रविन्द्र अधिकारीले पेश गरेको सडक सुरक्षा सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले यातायात नियमावली संशोधन गरी सहमतिका लागि कानुन मन्त्रालयमा पठाएकाले छिट्टै लागु हुने जानकारी गराउनुभयो । मन्त्री लेखकका अनुसार सरकारले यात्रुबाहक सवारी साधनले मालसामान र मालबाहकले यात्रु बोकेमा चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने कडा नियम लागु गर्न लागेको छ । त्यस्तै,पर्यटक सवारीले गैरपर्यटक यात्रु बोकेमा, निजी सवारीले भाडाको यात्रु बोकेमा,सार्वजनिक सवारीले रुट इजाजत नलिएको बाटोमा सवारी चलाएमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने नियमावली सरकारले लागु गर्न लागेको छ ।
यसैगरी लामो दुरीका सवारी साधनमा अनिवार्य २ जना चालकको व्यवस्था गर्नुपर्ने र त्यस्तो नभए सवारी साधनको बाटो इजाजत पत्र खारेज र दर्ता इजाजत पत्र छ महिना निलम्बन गरिने मन्त्री लेखकले बताउनुभयो ।  पछिल्लो समय सवारी दुर्घट्ना लगातार बढेपछि प्रमुख प्रतिपक्षी दल एमाले सांसद एवम् संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा कार्यजोजना लागू गर्नुपर्ने भन्दै व्यवस्थापिका संसदमा पेश गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथी आज छलफल भएको हो । छलफलमा भाग लिदै विभिन्न राजनीतिक दलका सांसदहरुले सडक दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, कच्ची सडक र सिन्डिकेट भएको बताएका छन् । उनीहरुले सार्वजनिक यातायातलाई भरपर्दो बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

१२ भदौ २०७३, आइतवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु