सरकार भारतसामु लम्पसार ! एमाले आरोप

CPN-UML-party-officeकाठमाडौँ, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनबारे सरकारले विदेशी भूमिमा गएर छलफल चलाएको भन्दै आपत्ति जनाएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गर्दै एमालेले संविधान संशोधनबारे मुलुकभित्र छलफल नगरी सरकारले विदेशी भूमिसँग छलफल चलाएको आरोप लगाएको हो । परराष्ट्रमन्त्री समेत नियुक्त भइनसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुकमा विशेष दुत खटाएर नेपालको आन्तरिक मामिलाबारे अवाञ्छित बाह्य चासो निम्त्याउने काम गरेको एमालेको ठहर छ ।

साथै संविधान संसोधनबारे प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पत्र पठाएकोप्रति आपत्ति जनाउदै एमालेले सो पत्र सार्वजनिक गर्न माग गरेको छ । पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णयहरु अहिले उल्टाउने,नीतिहरु बदल्ने तथा नियुक्तीहरु बदर गर्ने काम भइरहेको भन्दै राजनीतिक पूर्वाग्रहका आधारमा त्यस्तो नगर्न सरकारलाइ सचेत गराएको छ । विगतमा स्थानीय निकायको पूर्नसंरचना नगरी चुनाव नगर्ने भन्नेहरुले नै अहिले सरकारमा गएर पहिलाकै आधारमा निर्वाचन गरौँ भनेर सत्तापक्षले निर्वाचन नचाहेको स्पष्ट भएको एमालेको आरोप छ ।

स्थानीय निकायको पूर्नसंरचना आयोगले स्वतन्त्र ढंगले काम गर्न नदिइ स्थानीय निकायको सिमा र संख्याबारे सत्तापक्षले बखेडा झिकिरहेको एमालेको दाबी छ । गत साउन ३० गतेदेखि बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव इश्वर पोखरेलले संविधान सम्मत ढंगले गठित आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर तयार पारेको प्रतिवेदन स्विकार्न एमाले तयार रहेको बताउनुभयो ।

८ भदौ २०७३, बुधवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु