मन्त्री छनोटले कांग्रेसमा किचलो, देउवा तनावमा !

14072016082028nepali-congress-flagकाठमाडौँ, ८ भदौ । मन्त्री चयनको बिषयमा नेपाली कांग्रेसमा सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबिच बिवाद बढेको छ  । सभापति शेरवहादुर देउवाले पार्टीको भागमा परेका बाँकी मन्त्रालयमा पठाउने पार्टीका नेताको नाम प्रधानमन्त्रीलाई आज पठाउने तयार गरेपनि बरिष्ठ नेता पौडेल पक्षले भागबन्डा नमिलेको भन्दै मन्त्रीको नाम दिन अस्वीकार गरेको छ ।

सरकारमा सहभागी हुने नेताको नाम आज बिहान टुंगो लगाएर साँझ सपथ गराउने तयारी भएको भए पनि कांग्रेसमा मन्त्री छनोटमा विवाद चुलिएको हो । पौडेल पक्षले सम्मानजनक हिस्सा नपाएसम्म आफ्नो पक्षबाट कोही पनि सरकारमा नजाने चेतावनी दिएपछि सभापति देउवा तनावमा रहनुभएको उहाँ निकट नेताहरुले बताएका छन् । पर्सी शुक्रवार उपचारका लागि सिंगापुर जाने तयारीमा रहेका देउवाले भोली सार्वजनिक विदा भएकाले आजै सरकारमा सहभागि मन्त्री पठाउने तयारी गर्नुभएको थियो ।

देउवाले नेता पौडेलको सिफारीसमा तीन वा चार जना तथा नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारीसमा एक÷एक जना मन्त्री बनाउने बताएपनि पौडेल असन्तुष्ट देखिनुभएको छ । देउवा पक्षमा अर्जुननरसिह केसी मन्त्री बन्न तयार हुनुभएको छ । देउवाले केसीसँगै प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाहीलाई सरकारमा पठाउने तयारी गर्नुभएको छ । केसीलाई शिक्षा, महतलाई परराष्ट्र, खाँडलाई रक्षा र शाहीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना छ । सँगै देउवाले मिनबहादुर विश्वाकर्मा र फरमुल्लाह मन्सुरको नाम समेत मन्त्रीको रुपमा अघि सार्नुभएको छ । कांग्रेसले पाएको १३ वटा मन्त्रालयमा उपप्रधान र गृह सहित बिमलेन्द्र निधि र भैतिक पूर्वाधार तथा यातयात मन्त्रीका रुपमा रमेश लेखक यसअघि नै सरकारमा गइसक्नु भएको छ । कांग्रेसले अब ११ जना मन्त्री पठाउन बाँकी छ ।

८ भदौ २०७३, बुधवार १६:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु