निर्वाचन आयोगमा ६१२ हानिकारक सूचनाका उजुरी
निर्वाचन आयोगले ६१२ हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको जनाएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, प्राप्त उजुरीको व्यवस्थापनका निम्ति आयोगले सम्बन्धित निकायमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उनले जानकारी दिए ।
नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोलाई ३३६ सामग्री हटाउन पत्राचार गरिएको थियो । त्यसमध्ये १२९ सामग्री हटाइएको उनले बताए ।
हानिकारक सूचना प्रकाशन गर्ने १२ वेबसाइटलाई ‘ब्लक’ गरिएको छ । उनका अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्वाचन आचारसंहिताविपरीत सामग्री प्रकाशन गर्ने १२ वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकाले ब्लक गर्न सिफारिस गरिएको उनले जानकारी दिए ।
उनका अनुसार, प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ ।
आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेस गरेको उनको भनाइ छ ।
जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उनले बताए । निर्वाचन अवधिभर आचारसंहिताविपरीत गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिइने उनले उल्लेख गरे ।
१३ फागुन २०८२, बुधवार २२:१३ बजे प्रकाशित












