भीम रावलले मागे पार्टी अध्यक्षबाट केपी ओलीको राजीनामा !

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बुधबार साँझ ७ बजे बस्ने भएको छ। मंगलबार पनि कार्यदलको बैठक बसेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिताबारे छलफल भएको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार कार्यदलको बैठकमा नेता भीम रावलले समस्या समाधानका लागि पार्टीको तत्काल महाधिवेशन हुनुपर्ने र त्यसका लागि केपी ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
‘नेता रावलको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘पार्टी महाधिवेशनले मात्रै एमालेको सही रुपमा समस्या समाधान गर्छ । त्यसकारण तत्काल पार्टी महाधिवेशनमा जानुपर्छ ।
अहिले हामीले पार्टी महाधिवेशनमा जानेर भनेर पनि हुँदैन । महाधिवेशनमा जाने महोल बनाउन केपी ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ ।’
नेताहरुका अनुसार कार्यदलको मंगलबार बसेको बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान पनि गरेको छ ।
पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए । कार्यदलमा दुवैतर्फका ५/५ जना नेता छन् ।
प्रधानमन्त्री ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् ।
त्यस्तै माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।
तीन दिनको समय पाएको कार्यदलको समय आज सकिँदैछ। कार्यदलले पाएको समयमा काम नसकिने भएकाले अरू थप समय लाग्ने यस अघिनै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताइसकेका छन् ।
५ जेठ २०७८, बुधवार १४:३३ बजे प्रकाशित