दीपक मनाङे फेरि मन्त्री बन्दै

दीपक मनाङे फेरि मन्त्री बन्दै छन् । वैशाख २९ गते पुनर्नियुक्त भएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनले पूर्वमन्त्रीत्रय रामशरण बस्नेत, किरण गुरुङ र राजीव गुरुङ ‘दीपक मनाङे’ लगायत पुरानै मन्त्रीहरुलाई दोहोर्‍याउन लागेका छन् ।

यसअघिको मन्त्रिमण्डलमा समाजिक विकास मन्त्रालय नरदेवी पुन मगर, पर्यटन विकास लम्साल, आर्थिक तथा मामिला किरण गुरुङ, भौतिक विकास रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रालय राजीव गुरुङ ‘दीपक मनाङे’ ले सम्हाल्दै आएका थिए । यी मन्त्रालयमा पुरानै मन्त्रीहरु दोहोरिने पक्कापक्की भइसकेको स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु बोलाएपछि कृषि मन्त्रालय मुख्यमन्त्री आफैंले र कानुन मन्त्रालय रामशरण बस्नेतले सम्हाल्दै आएका थिए । स्रोत भन्छ, ‘यी २ मन्त्रालय अहिले पनि खाली हुन्छ । पछि यसबारे सहमतिअनुसार कसलाई दिने छलफल जारी छ ।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त अविश्वास प्रस्ताव वैशाख १३ गते सभामा पेस भएको थियो । अविश्वास प्रस्तावउपर बैशाख १५ गते मतदान हुने कार्यसूची थियो । तर, मतदान कै दिन जनमोर्चा सांसद खिमविक्रम शाही ‘गायब’ भएपछि मतदान २७ गतेका लागि सरेको थियो ।

२७ गते हुने भनिएको आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्नुको साटो मुख्यमन्त्री गुरुङले बैशाख २६ गते नै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन गर्न ७२ घन्टे समयसीमा तोकेकी थिइन् । तर, दिएको समयसीमामा जनमोर्चाका २ सांसद तटस्थ बसिदिएपछि विपक्षी गठबन्धनको बहुमत गुमेको थियो ।

विपक्षी गठबन्धनले बहुमत दावी गर्न नसकेको भन्दै प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) बमोजिम सदनमा ठूलो दलको नेताको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका मुख्यमन्त्री गुरुङ होम आइसोलेसनबाटै वैशाख २९ गते सपथ ग्रहण गर्न प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए । मुख्यमन्त्री गुरुङले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले एक्लैले सपथ ग्रहण गरेका थिए भने मन्त्रिमण्डल विस्तार स्वास्थ्यमा सुधार आएपछि गर्ने बताउँदै आएका थिए । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उनको स्वास्थ्यमा क्रमिक रुपले सुधार हुँदै आएको छ । तर, कोरोनाको पछिल्लो रिपोर्ट भने आइसकेको छैन ।

५ जेठ २०७८, बुधवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु