ओली र नेपाल वार्ता टर्यो, सहमतिको सम्भावना सकियो

नेकपा एमालेको विभाजन रोक्नका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच सहमतिको सम्भावना सकिएको छ ।

एकता जोगाउने प्रयासका लागि सोमबार बिहान ९ बजेसम्मको अल्टिमेट तथा ६ बुँदे प्रस्ताव गरेको नेपाल पक्ष र संसदको विश्वासको मत लिने तयारीमा रहेका ओली पक्षबिच वार्ताको पहल भए पनि वार्ता पनि टर्यो ।

ओलीका विशेष दूतका रुपमा वार्ताको पहल गरिरहेका नेता सुवासचन्द्र नेम्वाङ्गका अनुसार कुराकानी भइरहे पनि औपचारिक वार्ताको तय भने भइसकेको छैन ।

‘ुहिजो आइतबारको वार्तापछि एकता जोगाउनका लागि छलफल जारी राख्ने र दुवै पक्षले एकअर्कालाई इरिटेड गर्ने खालका कुनै पनि गतिविधि नगर्ने कुरा भएको थियो । नेता नेपालले पनि त्यसमा सहमति जनाउनु भएको थियो । तर उहाँहरुले अल्टिमेट दिने तथा पत्र लेखेर ६ बुँदे शर्त राख्नु भएको छ । यसले इरिटेड गर्ने काम मात्रै गरको छ’ नेता नेम्वाङ्गले भने ।

नेपाल पक्षले पनि वार्ता तय नभएको बताएको छ । स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले भने, ‘ उहाँहरुले चाहनु हुँदैन भन्ने कुरा पहिले नै थाहा भएको हो । समसीमा नाघेपछि हामीले जे भनेका छौँ त्यहि गर्ने छौँ ।’

नेपाल पक्षले बिहान साढे ९ बजेका लागि बैठक बोलाएको छ । पार्टी एकताका लागि आफूहरुले गरेका प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने नेता नेपालले ओलीलाई लेखेको पत्रमा उल्लेख छ ।

विश्वासको मतका लागि संसदको विशेष अधिवेशनको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

२७ वैशाख २०७८, सोमवार ०९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु