प्रधानमन्त्रीबाट राजीनामा दिने ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

ओलीले संसदमा विश्वासको मत लिनु अघि नै राजीनामा दिने विषयमा प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ ।

ओली पक्षीय नेताहरुको बैठकमा नेताहरुले राजीनामा दिएर विश्वासको मत नलिने र नयाँ सरकार गठनको पहल गर्नुपर्ने सुझाव दिएका छन् । यसो गर्दा सबैभन्दा ठूलो दलको नेताको हैसियतका राष्ट्रपतिले पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने र यसो गर्दा बाँकी दुई वर्षसम्म संविधानत अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भन्दै नेताहरुले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् ।

‘बाँकी दुई वर्ष प्रधानमन्त्री ओली नै हुने बाटाहरु के छन भनेर छलफल भएको छ । बिभिन्न विकल्पमा छलफल भएक छन् । विश्वासको मत नमागी प्रधानमन्त्रीले राजीनामा दिन पनि सक्नुहुन्छ’ ओली पक्षीय एक नेताले भने ।

ती नेताका अनुसार लुम्बिनी प्रदेशमा जस्तै संघमा हुन सक्छ ।

लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव अगाडि बढाउने कार्यसूची रहेको दिन बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए । दिउँसो सबैभन्दा ठूलो दलको दाबी गर्र्दै नयाँ सरकारमा दाबी पेश गरे ।

बहुमत सदस्य बाहिर हुँदा हुँदै प्रदेश प्रमुखले बेलुकी विरोधका बीच मुख्यमन्त्रीमा पोखरेललाई सपथ खुवाए । कसको पक्षमा बहुमत छ भन्ने नै प्रदेश प्रमुखले हेरेनन् । एक पक्षीय दाबीलाई स्वीकार गरेका थिए

संघमा पनि एमले सबैभन्दा ठूलो दलको रुपमा रहेको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीको विरोधमा छ । औपचारिक रुपमा पार्टी एउटै भएकाले प्रधानमन्त्रीले राजीनामा दिएर ठूलो दलको हैसियमा नयाँ सरकारमा दाबी गर्न सक्ने र सो दाबीलाई स्वीकार गर्दै राष्ट्रपतिले पुनः ओलीलाई प्रधानमन्त्रीको सपथ खुवाउन सक्ने भनेर वालुवाटारमा छलफल भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीले २७ गते राजीनामा लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

२६ वैशाख २०७८, आइतवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु