मन्त्रिपरिषद्को बैठक : युनिफाइड कोभिड अस्पतालको प्रस्ताव

२५ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।

प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको शनिवारको मन्त्रिपरिषद् बैठक कोरोना महामारीमा केन्द्रित भएको छ ।

बैठक कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पतालहरुका व्यवस्थापन कसरी गर्ने भन्ने बारेमै केन्द्रित रहेको मन्त्रीहरुले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने बताएका थिए ।

बैठकमा एकीकृत कोभिड अस्पताल सन्चालन गर्नेबारे प्रस्ताव आएको र त्यसमा थप छलफलपछि निर्देशिकासहितको व्यवस्थित प्रक्रिया अघि बढ्न सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

बैठकमा सोमवार शुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने प्रक्रियामा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

शनिवार साँझसम्म २६ जना सांसदमा कोभिड संक्रमण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ ।

संक्रमित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्नेबारे छलफल भएको स्रोतको भनाइ छ ।

२५ वैशाख २०७८, शनिवार १९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु