बेलायत यात्रामा नेपालीलाई प्रतिबन्ध

बेलायतले कोभिड १९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाएको छ । तर, यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।
बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरे ।
विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।
उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुने जनाइएको छ । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।
यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले चाहिँ आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।
‘कोही पनि पुनः लकडाउनमा फर्कन चाहँदैन’ सेक्रेटरी सेपले पत्रकार सम्मेलनमा भने ।
२५ वैशाख २०७८, शनिवार १९:५४ बजे प्रकाशित