भोट हालेपछि हाम्रो राजनीतिक हत्या गर्न खोजे : नेता घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव समूहका सांसदबीच सामूहिक राजीनामा दिनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ ।
बालुवाटारमा केपी ओलीको नेतृत्वमा बसेको बैठकले संसदबाट विश्वासको मत लिइसकेपछि माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीति तयार पारेको बुझिएकाले सामुहिक राजीनामाको विकल्पमाथि छलफल सुरु भएको माधव–झलनाथ समूहका नेता बताउँछन् ।
प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले बताए ।
के तपाईहरुले सांसद पदबाट सामुहिक राजीनामा दिन लाग्नुभएको हो र? भन्ने प्रश्नमा नेता भुसालले यस्तो प्रतिक्रिया दिए–
अस्ति बैशाख १२ गते उहाँहरु बैठक बस्नुभएको थियो । त्यसैदिन हामीमाथि कारवाही गर्ने प्रधानमन्त्रीको योजना थियो । तर, यसरी कारवाही गर्दा संसदमा हाम्रो आफ्नै सिट संख्या कम हुन्छ भनेर त्यहाँ सुवास नेम्वाङले रोकेको सुनियो ।
त्यसपछि के गर्ने त भन्दा पहिला विश्वासको मत लिने, त्यसपछि कारवाही गर्ने । उहाँहरुको यस्तो निर्णय भएको रहेछ ।
अहिले प्रधानमन्त्रीले अचानक विश्वासको मत लिने प्रस्ताव लिएर आउनुभयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदै ओलीजीले किन यसो गर्नुभयो त भन्दा यति गरेपछि हामीमाथि कारवाही गर्ने पक्षमा छन् भन्ने हामीले बुझ्यौैं ।
अहिले विश्वासको मत लिएपछि अरुलाई पनि सरकारमा सहभागी गराउने र हामीलाई कारवाही गर्ने ।यसो भइसकेपछि त हामीलाई जसरी पनि कारवाही गर्छन्–गर्छन् ।
एकता नगर्ने, दक्षिणपन्थीहरुसँग मिल्ने, बाहिरका शक्तिहरूसँग मिल्ने, सामन्तहरूसँग मिल्ने र हामीलाई लेखेट्ने । र, हामीलाई कारवाही गर्नका लागि यो ल्याइएको हो भन्ने हामीलाई लागेको छ ।
त्यसैका कारणले गर्दाखेरि राजीनामा गर्नुपर्छ भन्ने एउटा विचार हामीकहाँ आएको छ । दक्षिणपन्थीहरुसँग मिलेर हामीमाथि कारवाहीका लागि उहाँहरुले तयारी गर्नुभएको छ । कारवाही त हामीलाई गर्ने नै छन् ।
बाहिरका शक्तिहरूसँग मिल्ने, पार्टीभित्रका असहमतिहरुलाई दबाउने, जेठ २ मा फर्कौं भन्दा नटेर्ने । यो भनेको एमाले पार्टी विभाजित गर्ने उनीहरुको सुनियोजित तरिका हो । सुनियोजित स्टेपहरु चालेर गएका छन् भनेर हामीले भनेकै छौं ।
त्यसैले हामीले राजीनामा दिनु राम्रो हो भन्ने मत हामीकहाँ आएको छ । पहिले भोट हाल्न लगाएर त्यसपछि हाम्रो राजनीतिक हत्या गर्न खोजेजस्तो देखियो ।
२१ वैशाख २०७८, मंगलवार १४:५८ बजे प्रकाशित





