बंगलादेशबाट आइपुग्यो ७ हजार डोज ‘रेम्डेसिभिर’, आजै वितरण गरिने
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज मंगलबार नेपाल आइपुगेको जानकारी दिए ।
पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बंगलादेशबाट ७ हजार डोज औषधि नेपाल ल्याइएको उनले बताए । साथै भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुग्ने उनले बताए ।
उनले सो औषधि कोभिड अस्पतालहरुमा आजै पठाउने तयारी भइरहेको जानकारी दिए ।
सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएको थियो ।
थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बंगलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।
२१ वैशाख २०७८, मंगलवार १४:३७ बजे प्रकाशित





