भारतबाट दैनिक ४५ सय नेपालीहरु स्वदेश फर्किँदै

२१ वैशाख, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी पछि भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या दैनिक ४५ सयसम्म पुगेको पाइएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए ।

मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले भने, ‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपालीहरु घर फर्किरहेको देख्छौं । सबैभन्दा बढी चाप सुदुरपश्चिमतिर छ ।’

तथापि आफुहरुले सकभर घर नजान आग्रह गरेको उनले बताए । ‘सकभर घर नगइदिनुस् भन्ने आग्रह छ । जाँदै नजानुस भन्न सक्दैनौं । महामारीमा आफन्त, बाबुआमा, छोराछोरीसंगै रहुँ भन्ने होला ।

तर, बाटोमै संक्रमण हुन सक्ने संभावना रहन्छ नजानुस् भनेर मात्रै आग्रह गर्ने गरेका छौं’ उनले भने । आचार्यले भारतमा अहिलेसम्म कोभिडबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए । ‘यहाँ नेपालीहरु हताहत भएको अवस्था छ ।

हामीसँग पुरा तथ्याङ्क छैन । अहिले २३ जनाको निधन भएको तथ्याङ्क हामीसँग छ । तर, यो भन्दा धेरै आक्रान्त भएको अवस्था छ । हामीसँग भएको यो तथ्याङ्क अपुरो छ,’ उनले भने ।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दुतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्नेमा सहजीकरण भइरहेको उनले बताए ।

संक्रमति भएका छन्, अस्पताल जान सकेका छैनन् भने अस्पतालमा सम्पर्क गरेर पठाउने, बिरामी अस्पतालमा गइसकेका छन् भने अस्पताललाई नै फोन गरेर सहयोग गरिदिन भनिदिएका छौँ’ उनले भने ।

बैठकमा महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुबिधा नपाएको गूनासो आइरहेको बताइन् । आधार कार्डको विकल्पबारे दुतावासले सोच्नुपर्ने उनको भनाई छ ।

‘आधार कार्ड नहुँदा सेवा सुबिधा पाउन नसकिने भन्ने कुरा छ । आधारकार्डको अभावमा के गर्न सकिन्छ भन्ने बारेमा राजदुतावासले सोच्नुपर्ने र सहजीकरण गर्नुपर्ने देखियो’ उनले भनिन् ।

२१ वैशाख २०७८, मंगलवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु