कोरोनाको दोस्रो लहरबाट भारतमा एक सय बढी नेपालीको मृत्यु

२१ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीबाट भारतमा एक सय बढी नेपालीको मृत्यु भएको पाइएको छ ।
प्रवासी नेपाली संघ भारत उपाध्यक्ष नारायण हुमागाईका अनुसार कोरोनाको दोस्रो लहरबाट भारतमा मृत्यु हुनेको संख्या १०२ रहेको छ ।
यो अनौपचारिक तथ्याङ्क हो । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै उपाध्यक्ष हुमागाईले आफुहरुले भारतमा रहेका नेपालीहरुको अवस्था, संक्रमित र मृतकको तथ्याङ्क संकलन गरेको भन्दै सो बारे जानकारी दिएका हुन् ।
उनका अनुसार पश्चिम बंगाल र झारखण्डमा ३५ जना कोरोना संक्रमित नेपालीहरु उपचारत छन् । पश्चिम बंगाल र झारखण्डमा कोरोनाबाट ६ जना नेपालीको निधन भएको छ ।
यस्तै, महाराष्ट्रमा १०० बढी संक्रमित छन् भने २० जनाको मृत्यु भएको छ । मध्यप्रदेश भुपालमा इन्दोरमा १७५ जना संक्रमित रहेको ३३ जनाको मृत्यु भएको तथ्याङ्क उनले सुनाए ।
यस्तै, उनका अनुसार आन्ध्र प्रदेशमा १०० जना बढी संक्रमित रहेको ४ जनाको मृत्यु भइसकेको छ । तामेलनाडुमा ५० जना संक्रमित भएका छन् ।
तामेलनाडुमा कोरोनाबाट मृत्यु भएको सूच्ना प्राप्त नभएको उनले जानकारी दिए । कर्नाटकमा १० जना संक्रमित रहेको र एक जनाको मृत्यु भएको, दिल्लीमा १५० बढी संक्रमित रहेको र हालसम्म २५ जनाको मृत्यु भइसकेको उनले बताए ।
हरियाणामा ३० जना संक्रमित । ५ जनाको मृत्यु । पञ्जाबमा ३० जना संक्रमित उपचाररत रहेको र ६ जनाको मृत्यु भएको, उत्तरप्रदेशमा ११ जना संक्रमित रहेको १ जनाको नेपाल फर्किएपछि नेपालमै मृत्यु भएको सूचना प्राप्त भएको उनले जानकारी दिए ।
आफुहरुले सांगठनिक रुपमा भारतमा रहेका नेपालीहरुको अवस्था, संक्रमण र मृतकको तथ्याङ्क संक्लन गरेको उनले जानकारी दिए ।
बैठकमा सहभागी भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भने भारतमा अहिलेसम्म कोभिडबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए ।
‘यहाँ नेपालीहरु हताहत भएको अवस्था छ । हामीसँग पुरा तथ्याङ्क छैन । अहिले २३ जनाको निधन भएको तथ्याङ्क हामीसँग छ । तर, यो भन्दा धेरै आक्रान्त भएको अवस्था छ । हामीसँग भएको यो तथ्याङ्क अपुरो छ,’ उनले भने ।
भारतमा संक्रमित भएका नेपालीहरुलाई दुतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्नेमा सहजीकरण भइरहेको उनले बताए ।
संक्रमति भएका छन्, अस्पताल जान सकेका छैनन् भने अस्पतालमा सम्पर्क गरेर पठाउने, बिरामी अस्पतालमा गइसकेका छन् भने अस्पताललाई नै फोन गरेर सहयोग गरिदिन भनिदिएका छौँ’ उनले भने ।

२१ वैशाख २०७८, मंगलवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु