देउवा उत्साहित : नयाँ सरकार गठनको पहल तीव्र
सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।
‘प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाइएको हो’, सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने ।
यसअघि नै सभापति देउवाको काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीहरुसंग नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका छन् ।
कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’
२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ ।
कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेका निष्कर्ष निकालेको हो ।
२० वैशाख २०७८, सोमवार १२:३१ बजे प्रकाशित





