शंकर पोखरेललाई पुन : मुख्यमन्त्रीको शपथ गराउने तयारी
विपक्षी ४२ जना सांसदहरुको विरोधकाबीच लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ दिलाउने तयारी भइरहेको छ।
आजै बिहान राजीनामा दिएर फेरि संसदीय दलबाट आफ्नो पक्षमा बहुमत दाबी गरी संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री बनेका पोखरेललाई शपथ खुवाउने तयारी भइरहेका छ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले आफूहरुसँग बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष निवेदन दिएका बेला उनको शपथको तयारी भएको हो।
उनीहरुले आफैं उपस्थित भएर प्रदेश प्रमुखसामू आफूहरुको संख्या ४२ जना रहेको देखाउँदा पनि प्रदेश प्रमुखले पोखरेललाई नै शपथ गराउने तयारी गरेको माओवादी केन्द्रका प्रदेश सांसद सुदर्शन बरालले बताए ।
‘प्रदेश प्रमुख लाचार भएर बस्नुभएको छ,’ बरालले नेपालखबरसँग भने, ‘उहाँ जवरजस्ती शपथ गराउने प्रयत्न गर्दै हुनुहुन्छ। अब हामी पोलिटिकल स्टेप हेर्छौं त्यसपछि अर्को स्टेप चाल्छौं।’
मुख्यमन्त्री पोखरेलले आफूसँग बहुमत दाबी गरेर पेश गरेका सांसदको सूचीमा रहेकामध्ये दुगनारायण पाण्डेले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन्।
यस्तै शंकर पोखरेललाई आफूहरुको समर्थन नरहेको भन्दै धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही उनको विपक्षमा उभिएका छन्।
त्यसैगरी विमला खत्रीले पनि आफू माओवादी पार्टी प्रवेश गरेको सार्वजनिक रुपमै घोषणा गरेकी छन्।
आजै विहान राजीनामा दिएका मुख्यमन्त्री पोखरेलले पार्टीको बहुमत देखाएर पुन नियुक्ति लिएका थिए ।
बैशाख ६ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो। सो प्रस्तावमाथि छलफल नै नगरी मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर आजै पुन नियुक्ति लिएका हुन्।
१९ वैशाख २०७८, आइतवार १९:३९ बजे प्रकाशित





