पार्टी फुटको प्रवाह नगरी प्रचण्डले बोलाए सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर पार्टीको बैठक बोलाउने तयारी छ ।

दिउँसो चार बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेर औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी छ । स्रोतका अनुसार दिउँसो ४ बजे धुम्बाराहीमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले अनौपचारिक छलफल गर्नेछन् ।

बहुमत सचिवालय सदस्यले दुई दिनभित्र पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गर्दै ओलीलाई शनिबार पत्र बुझाएका थिए । तर, ओलीले तत्काल बैठक बस्न नसक्ने जानकारी गराएपछि पार्टी निर्णय अनुसार अगाडि बढ्न भोलिसम्म औपचारिक बैठक बोलाउने तयारी गरिएको स्रोतले जनाएको छ ।

९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । ओलीको पक्षमा ईश्वर पोखरेल छन् । महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले दुबैतर्फ आफूहरु रहेको बताउँदै आएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भने खनाल, नेपाल, गौतम र श्रेष्ठको साथ छ ।

ओलीले लिखित आग्रह गर्दा पनि बैठक नबोलाएपछि आज बेलुकीसम्म भोलि वा पर्सीसम्म बैठकका लागि प्रचण्डले सूचना जारी गर्नेछन् । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने र अगाडि बढ्ने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत ओलीलाई बैठक बोलाउने सन्देश पठाइसकेका छन् । आफूसँग बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि ओलीलाई लिखित आग्रह गरिएको र त्यो आग्रहलाई बेवास्ता गरिएकाले अब आफैले बैठक बोलाउने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

पार्टीका नेताहरुलाई जानकारी नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ ।

२५ कात्तिक २०७७, मंगलवार १५:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु