बाइडेनको जितसँगै अमेरिकी सहरमा विजय उत्सव
 
			डेमोक्र्याट नेता जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्।
७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।
अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७९ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको २१४ इलेक्टोरल भोट छ ।
ट्रम्पलाई पराजित गरेर बाइडेन राष्ट्रपति बनेसँगै अमेरिकाका शहरमा उनका समर्थकले विजय उत्सव मनाइरहेका छन् ।
पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पार्दै बाइडेनले ह्वाइट हाउसको ढोका उघारेका हुन् । बाइडेन विजयी भएसँगै समर्थकले अमेरिकाका विभिन्न सहरमा विजयी उत्सव मनाउन थालेका छन् ।
नोभेम्बर ३ मा कोरोना संकटकैबीच अमेरिकामा राष्ट्रपति चुनाव भएको हो । कोरोना महामारीका कारण यो वर्ष १० करोड भन्दा बढी अमेरिकीले अग्रिम मतदान गरेका थिए ।
बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बनेका छन् । उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।
बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार सात करोड ४५ लाख भन्दा बढी अमेरिकीले बाइडेनको पक्षमा मतदान गरेका छन् ।
राष्ट्रपति निर्वाचित हुँदै गर्दा डेलवरस्थित घरमा रहेका बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामा, सभामुख न्यान्सी पेलोसीसहितका नेतासँग कुराकानी गरेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । 
बाइडेनले लामो समयदेखि रिपब्लिकनको पडक रहँदै रहेको एरिजोना र जर्जियामा जित निश्चित गरेका छन् । उनले अघिल्लो चुनावमा गुमेका विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा आफ्नो जित देखाएका छन् ।
चार राज्यको नतिजा अझै आउन बाँकी नै छ । एरिजोना र जर्जियामा बाइडेन अगाडि छन् । त्यहाँ ११ तथा १६ इलेक्टोरल मत रहेको छ । उता ३ र १५ इलेक्टोरल मत रहेका अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् ।
ट्रम्पले अझैसम्म बाइडेनलाई बधाई दिन अस्वीकार गरेका छन्। उनले लगातार धाँधलीको आरोप लगाएका छन् ।
राष्ट्रपति निर्वाचित बाइडेनले केही समयमै सम्बोधन गर्ने तयारी गरिराखेका छन् । सम्बोधनमा उपराष्ट्रपति बनेकी कमला ह्यारिसलेसमेत सम्बोधन गर्नेछिन् ।
२३ कात्तिक २०७७, आइतवार ०७:१३ बजे प्रकाशित
 
						 




