अविश्वासको प्रस्तावको सुचनाले बालुवाटारमा सन्नाटा, प्रचण्ड फकाउन अनेक तिगडम
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद झांगिएपछि अनेक दृश्यहरू देखिन थालेका छन् । अनेक प्रयासपछि पनि विवाद नासुल्झिने देखेपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी रणनीति बनाउन आफू निकट नेताहरूलाई बोलाएर लामो परामर्श गरेका छन ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि उत्पन्न संकटले केन्द्रदेखि प्रदेश हुँदै गाउँ स्तरसम्म पार्टी विभाजन हुने अवस्था देखिएपछि नेताहरू परामर्शमा जुटेका हुन् ।
तर, प्रधानमन्त्री ओलीले बोलाएको जमघटको वातावरण भने एक नेताले सुनाएको सुचनाले बिथोलेको सहभागी एक नेताले बताएका छन् । छलफल चल्दैगर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको सुचना एक नेताले सुनाएपछि त्यहाँको माहोल एकाएक स्तब्ध भएको थियो ।
पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको एक नेताले छलफलकै क्रममा सुनाएका थिए । ति नेताले सुचना सुनाएपछि केहि समय नेताहरू चुपचाप भएको र माहोल नै स्तब्ध बनेको स्रोतले जनाएको छ ।
बिहीबार ओलीनिकट नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल उपस्थित थिए ।
प्रधानमन्त्री कार्यालयमै भएको भेटमा भर्खरै उक्त कार्यालय हेर्नेगरी जिम्मा पाएका ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी रहेको बताइएको छ । भेटमा अविश्वासको प्रस्ताव ल्याउने तयारीबारेको पनि चर्चा चलेको एक नेताले जानकारी दिए ।
“प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन् भन्ने सूचना पाएको छु,” एक नेताले भने, “प्रधानमन्त्री ओली र पार्टी अध्यक्षबीच पछिल्लो समय संवाद नै हुन सकेको छैन । तिक्तता झनै बढेर गएको छ ।”
त्यस्तै प्रचण्ड–नेपाल समूहले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेर नेताबाट हटाउने तयारी गरेको पनि आशङ्का गरेको छ । संसदीय दलमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत पुग्ने उनीहरूको विश्वास छ ।
खासगरी ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उल्लंघन गरेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र राष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जासुसी संस्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको बुझिएको छ।
पार्टीमा कुनै पनि सल्लाह नगरी ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि गत वैशाख १७ गते ओली र प्रचण्ड(नेपाल समूहले संंसदीय दलमा बहुमत देखाउन हस्ताक्षर गरेका थिए।
तर त्यतिबेला ओली पराजित भई प्रचण्ड(नेपालसँग सहमति गर्न बाध्य भएका थिए।
आफूसँग लामो समय ‘इगो’ साधेर बसेको भन्दै प्रचण्डलाई फकाउन ओलीले प्रदेशबाट झिकाएका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरु र ओलीका सल्लाहकारहरुबीच बिहीबार भएको आन्तरिक समीक्षामा पनि यो विषयबारे चर्चा भएको थियो।
प्रचण्ड फकाउन अनेक तिगडम
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको छलफल अघि शङ्कर पोखरेल खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओलीको सन्देश लिएर गए पनि प्रचण्ड सकारात्मक देखिएनन् । प्रचण्डले ओलीले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको, स्थायी कमिटी बैठकको आदेश अवज्ञा गरेको आरोप लगाए र कार्यशैली नसच्याएसम्म संवाद नहुने अडान लिए ।
प्रचण्डको जवाफ सुनेर चिन्तित बनेका पोखरेलले आएर आफ्नो समूहका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा दुवै जना अध्यक्षले आ–आफ्नो कार्यशैली सच्याउनुपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।
१५ कात्तिक २०७७, शनिवार ०७:२२ बजे प्रकाशित





