अब कृष्णबहादुर महरा प्रभावशाली स्थायी समिति सदस्य !
सत्तारुढ नेकपाले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ, जसले उनलाई ३१ महिनापछि सक्रिय राजनीतिमा फर्किन ढोका खोल्नेछ।
सभामुखमा नियुक्त भएको ३१ महिना र राजीनामा दिएको झण्डै एक वर्षपछि महराका लागि सक्रिय राजनीतिको ढोका खुल्ने भएको हो।
४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ। त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ।
नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो।
पार्टी एकताका बाँकी कामसँगै मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगको पदाधिकारी नियुक्तिलगायतका विषयमा ओली र प्रचण्डबीच ६ दिनसम्म छलफल चलेको थियो। महरालाई स्थायी समितिमा ल्याउने विषय पनि सो छलफलको एउटा एजेन्डा रहेको नेकपाका एक जना सचिवालय सदस्यले बताए।
‘‘महराजीलाई स्थायी समितिमा ल्याउने तयारी छ, संगठनात्मक प्रस्तावको प्याकेजमै निर्णय गर्दा त्यसबारे पनि निर्णय हुनेछ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँलाई ल्याउने कुरामा विवाद होला जस्तो लाग्दैन।’
अब बस्ने सचिवालय बैठकले यो निर्णय गर्नसक्ने उनको भनाइ छ।
उनी सभामुख हुनुअघि तत्कालीन माओवादी केन्द्रको प्रभावशाली स्थायी समिति सदस्य थिए।
२०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा दाङ २ बाट निर्वाचित महरा सोही वर्षको फागुन २५ गते सभामुखमा निर्वाचित भएपछि सक्रिय राजनीतिमा थिएनन्। सभामुख भएपछि फागुन २७ गते पार्टीका सबै जिम्मेवारीबाट उनले राजीनामा गरेका थिए।
संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिए। असोज १९ गते उनलाई प्रहरीले सभामुख निवासबाटै पक्राउ ग¥यो।
उनी कात्तिक १८ गते पुर्पक्षका लागि सदरखोर डिल्लीबजार पु¥याइए। त्यसपछि १ सय ३५ दिन जेलमा बसेर फागुन ५ गते काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएकै दिन महरा जेलमुक्त भए। जेलमुक्त नहुन्जेल उनको सांसद पद निलम्बनमा थियो। फागुन ६ गते सांसद पदको निलम्बन फुकुवा भयो।
पार्टीको पुरानै जिम्मेवारीमा फर्किन महराले अध्यक्षद्वय ओली र प्रचण्डसँग दुवैसँग सन्तुलित व्यवहार गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले वैशाख ८ गते दलविभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको विवादमा उनले ओलीलाई सहयोग पुग्नेगरी विज्ञप्ति निकालेका थिए।
वैशाख १७ गते उनले विज्ञप्तिमार्फद एकता र सहकार्य कायम राख्न अपिल गरेका थिए।
प्रचण्डका विश्वासपात्र भएकै कारण उनी सभामुख भएका थिए। तर, बलात्कार प्रयासको आरोप लागेपछि प्रचण्डले आफ्नो रक्षा गर्न नसकेको भन्दै महरा असन्तुष्ट थिए।
१६ असोज २०७७, शुक्रवार ०७:२४ बजे प्रकाशित





