‘अख्तियारमा लोकमान र नवीन घिमिरे जस्ता व्यक्ति लान हुन्न’

‘अख्तियार प्रमुख छान्दा तीन कुरा हेरियोस्’

अख्तियार प्रमुखमा पूर्व प्रमुख आयुक्त लोकमान कार्की र निवर्तमान प्रमुख आयुक्त नवीन घिमिरे जस्ता व्यक्तिहरु लैजान नहुने बताउँछन् नेकपाका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित ।

लोकमान सिंह कार्की हिम्मतिलो भएको तर, व्यक्ति स्वार्थ, समुह स्वार्थमा लागेर अख्तियारको दुरुपयोगमा केन्द्रीत भएको उनको विश्लेषण छ ।

स्वच्छ छविका भनिए पनि नवीन घिमिरेले उत्कृष्ठतापूवर्क काम गर्न नसकेको उल्लेख गर्दै उनले अब अख्तियार प्रम्ुख छान्दा लोकमान र नवीन घिमिरे जस्ता पात्र नछान्न सरकारलाई सुझाव दिएका छन् ।

‘स्वच्छ छवि भएर मात्रै हुँदैन । हिम्मतिलो पनि चाहियो’ पण्डित भन्छन्, ‘ लोकमासिंह हिम्मतिलो थिए तर, व्यक्ति स्वार्थमा केन्द्रीत भएर हिम्मतिलो हुनुको कुनै अर्थ छैन । प्राप्त अधिकार भन्दा माथि आफुलाई सोच्ने, सबैभन्दा बढी अख्तियारको दुरुपयोग लोकमान जी को पालामै भएको छ । त्यसकारण लोकमान चरित्रको व्यक्ति लान हुँदैन ।’

नविन घिमिरेबारे उनको टिप्पणी छ, ‘नवीन घिमिरेले पनि काम त गर्नुभयो तर, अझै उत्कृष्ठतापूवर्क गर्नुभएन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लानुपर्दछ ? भन्ने बहस छ ।

यहि बेला पण्डितले यस्तो सुझाव दिएका हुन् ।

‘अख्तियारमा लाने व्यक्ति अनुभवी हुन पर्यो । देशलाई बुझेको व्यक्ति हुन पर्यो । संविधानलाई बुझेको, आफ्नो कर्तव्यलाई बुझेको हुन पर्यो । तर, लोभी, पापी, आत्मकेन्द्रीत, डरपोक वा मुख ताख्ने व्यक्तिको अख्तियारमा काम छैन’ पण्डितले भने ।

‘अख्तियार प्रमुख छान्दा तीन कुरा हेरियोस्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा अख्तियार नेतृत्व छान्दा सरकारले प्रमुख तीन कुरा हेर्नुपर्ने सुझाउँछन् ।

थापाको नजरमा अख्तियार प्रमुखमा हुनुपर्ने तीन गुण यस्ता छन् ।

पहिलो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व गर्ने मान्छे सार्वजनिक प्रतिष्ठामा प्रश्न नउठेको, प्रश्नहरुभन्दा माथि रहेको हुनुपर्यो । २० वर्षको अनुभव भएको भनेका छौं त्यो भनेको सार्वजनिक व्यक्ति नै हो । सार्वजनिक प्रतिष्ठा सबैभन्दा ठूलो पुँजी भएको हुनुपर्यो ।

दोस्रो– अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय हो जसको परिकल्पना सरकारले गर्ने गल्ति कमजोरीहरुलाई सच्याउने हो । जुन कुरा अरु निकायले हेर्दैन त्यो हेर्ने शासकीय सुद्धता कायम गर्छ भन्ने छ । त्यसकारण अख्तियारलाई लसपसबाट अलग राख्नुपर्छ । सरकारसँग र अरु जति पनि निकाय छन ति निकायहरुसँग अलगथलग राख्नुपर्छ । यो इच्छाशक्ति भएको व्यक्ति हुनुपर्दछ ।

तेस्रो– नियुक्ति हुनुभन्दा पहिला जुसुकै खालको बुझाईहरु, जे सुकै भए पनि नियुक्ति लिएको क्षणबाट सम्पूर्ण धर्म अख्तियारको कानुन अनुसारको भूमिका निर्वाह गर्न सक्ने व्यक्ति हुनुपर्दछ । अख्तियारको कानुनले दिएको भन्दा दायाँ, त्यो भन्दा बायाँ , त्यो भन्दा आगे, त्यो भन्दा पछि केही पनि नभएको हुनुपर्यो । पर्दा खेरी आफ्नो बाउलाई पनि छानविन गर्न सक्नुपर्यो । त्यो आँट भएको मान्छे हुन पर्यो ।

५ असोज २०७७, सोमवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु